काठमाण्डाै – अझै तीन दिन देशभरको मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कुनै मौसमी प्रणालीको प्रभाव नरहे पनि पछिल्लो चार/पाँच दिनयता देशभर चिसो बढेको मौसमविद्ले बताएका छन् ।
केही दिनदेखि तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो थोरै मात्रै हटेको छ । आइतबारपछि मौसमी प्रणाली परिवर्तन हुने देखिए पनि तत्काल मौसम सफा हुने सम्भावना कम देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
गएको आइतबार काठमाण्डौको तापक्रम ८ दशमलव ८ डिग्री पुगेको थियो । त्यसपछि तापक्रम घटेर देशभर नै चिसो बढेको मौसमविद् मानन्धरले बताउनुभयो ।
चार/पाँच दिनयता काठमाण्डौको तापक्रम न्यूनतम ३ देखि अधिकतम २० डिग्रीसम्म पुग्ने गरेको छ । पानी परेपछि मात्रै बादल हटेर जाने भए पनि तत्काल पानी पर्ने सम्भावना देखिएको छैन । बिहानको समयमा १३ देखि १५ डिग्रीसम्म न्यूनतम तापक्रम पुगे मात्रै केही न्यानो हुने मौसमविद् मानन्धरको भनाइ छ ।



