रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै दैनिक ४ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिन्छन् । सामान ‘अनलोड’ गरी भारत फर्किंदा प्रायः गाडी नेपालमै ‘फूल ट्याङ्की’ इन्धन भरेर फर्किने गरेका छन् ।
भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धन प्रतिलिटर ३२ देखि ३७ रूपैयाँसम्म सस्तो पर्ने भएपछि भारतीय मालबाहक गाडीले यताबाट इन्धन भरेर फर्किने गरेका हुन् । सीमा आसपासमा चल्ने सवारी साधन त इन्धन भर्नकै लागि पनि नेपाल आउने गरेका छन् ।
कोरोना महामारी कम नभए पनि भारतबाट अहिले रुपन्देहीका सीमावर्ती बजार भैरहवा र बेलहियामा निर्वाध रुपमा प्रवेश पाउने भारतीय सवारीसाधनले नेपालमा तेल भरेर भारत फर्किने गर्छन् ।
यसरी तेल भारतबाट आएको इन्धन दैनिक रुपमा भारतीय भर्दा रुपन्देहीबाट मात्रै दैनिक ९० हजार लिटर डिजेल भारत जाने यहाँ सञ्चालित विभिन्न पेट्रोल पम्पका सञ्चालकले दिएको तथ्याङ्कले बताउँछन् । यो, रुपन्देहीको मात्र होइन, तराईका सबै सीमावर्ती जिल्लाहरुको समस्या हो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपाने अत्यावश्यक अवस्थामा सीमा नाकासम्म पुग्नका लागि इन्धन दिनुबाहेक अन्य अवस्था भारतीय गाडीलाई दिइने इन्धन रोक्नुपर्ने बताउँछन् ।
‘यो विषय लामो समयदेखि उठ्दै आएको हो,’ न्यौपानेले लोकान्तरसँग भने, ‘इन्धनको संकट भएको बेलामा कुरा उठ्छ, अन्य समयमा सेलाउँछ । यसले नेपालको व्यापार घाटा बढाउँछ । फाइदाको पैसा सबै भारत जान्छ ।’
अहिले इन्धनको मूल्य स्वचालित हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बढे बढ्छ, घटे घट्छ । भारतमा त्यहाँको सरकारले स्थानीय र राज्य सरकारले पूर्वाधार लागयतका विभिन्न कर लगाउँदा इन्धन महंगो पर्छ । भारतमा भन्दा सस्तो मूल्यमा डिजेल र पेट्रोल नेपालमा पाइने भएपछि भारतीय गाडी चालकहरूले आफ्नो कमाई बचाउनका लागि नेपालमै तेल राखेर फर्किने गर्छन् । एउटा मालबाहक ट्रकले २ सयदेखि ३ सय ५० लिटरसम्म डिजेल भर्ने गरेको छ ।
गाडी चालकले आफ्नै कमाइका लागि त्यसरी नेपालमा डिजेल भर्दा उसलाई कम्तीमा ८ हजार रुपैयाँ सस्तो पर्दछ ।
दैनिक ३ सय गाडीले सरदर ३ सय लिटरका दरले डिजेल राख्दा ९० हजार लिटर डिजेल भारततर्फ नै फर्किने गरेको छ । भारतीय बजारभन्दा नेपाली बजारमा डिजेल प्रायःजसो कम्तिमा ३० रुपैयाँ सस्ता पर्ने गरेको छ ।
९० हजार लिटर इन्धनमा ३० रुपैयाँका दरले हिसाब गर्दा पनि करीब २७ लाख रुपैयाँ आम्दानी भारतीय चालकहरूको पोल्टामा दैनिक जाने गरेको छ ।
नेपालको स्थानीय प्रशासनले भने यस विषयमा खासै चासो दिएको पाइन्न ।
नेपालबाट भारततर्फ डिजेल फिर्ता जाने गरेको विषयमा आफूले बुझ्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
‘यो विषयमा व्यक्तिगत कुरा गर्दा संघीय सरकारले नै योजना बनाउनुपर्ने हो,’ प्रजिअ घिमिरेले लोकान्तरसँग भने, ‘यो विषयमा सोचिरहेका छौं । भारतीय आयल कर्पोरेसको भन्दा नेपालमा सस्तो इन्धनले भारतीय गाडी चालक र गाडी धनीलाई फाइदा धेरै हुन्छ ।’
अहिले भारतीय सीमा आसपासका नेपाली बजारमा डिजेलको मूल्य ९१ र पेट्रोलको १०८ रुपैयाँ छ । त्यस्तै भारतमा उपभोक्ता मूल्य पेट्रोलको (नेपाली) १४० र डिजेलको १२९ रुपैयाँ छ ।
सीमा क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरू पनि भारतीय गाडीलाई तेल बेच्दा खुशी हुने गरेका छन् । नेपालतर्फ उधारोमा कारोवार गर्नुपर्ने, तर उताबाट आउने गाडीले भने फूलट्याङ्की तेल नगदमा हाल्ने भएकाले भारतीयलाई तेल बेच्न उनीहरू खुशी हुने गरेका हुन् ।
मुद्रा सटहीबाट समेत थप आय हुने भएकाले व्यापारीहरूले विना हिच्किचाहट भारतीयलाई तेल बेचिरहेका छन् ।
यातायात व्यवसायीको माग भने भारतीय गाडीहरूलाई तेलको मूल्य छुट्टै हुनुपर्छ भन्ने छ । भारतमा गाडीको मूल्य सस्तो पर्ने अनि नेपालमा तेल सस्तो पर्ने हुँदा दुवैतिरको सस्तो सस्तो उपयोग गरेर उनीहरूले लिने भाडासँग आफूहरूले प्रतिस्पर्धा गर्न नसक्ने नेपाली यातायात व्यवसायीको गुनासो छ ।
हवाइजहाजमा विदेशी पर्यटकलाई अतिरिक्त शुल्क लिए जस्तै नेपाली बजारमा गुड्ने भारतीय सवारी साधनलाई पनि पेट्रोलियम पदार्थमा थप शुल्क लिनु पर्ने माग व्यवसायीले राख्दै आएका छन् ।



