राष्ट्रिय जनता पार्टी(राजपा)ले चुनावमा जान फेरि स्थानीय तहको संख्या लगायतको बखेडा निकालेको छ । प्रधानमन्त्री कार्यलय सिंहदरमा अहिले भईरहेको वार्तामा राजपाले आफ्ना माग पुरा नभए कुनै हालतमा निर्वाचनमा नजाने अडान लिएको कांग्रेस नेता रामचन्द्र पौडेलले वार्तास्थलमा जानकारी दिए ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् । यसअघि हिजो भएको वार्तामा राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । तर, सत्तारुढ दलहरुले अस्वीकार गरेका थिए । आज पनि सो पार्टीले चुनाव सार्नु पर्ने अडान दोहोर्याएको छ ।
राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतका राजनीतिक माग पुरा नभए चुनावमा नजाने बताएको छ । तर, सरकार र सत्तारुढ दलहरुले भने संविधान संशोधन चुनावपछि गर्ने भन्दै निर्वाचनमा सहभागी हुन आह्वान गर्दै आएको छ ।पौडलले स्थानीय तहको संख्या बढाउन सर्बोच्चले रोक लगाएकोले तत्काल गर्न नमिल्ने प्रतिक्रिया दिए
राजपाका नेताहरुले आजको वार्ता निर्णायक हुने बताएका छन् । यदि आज सहमति नजुटे दिउँसो बैठक बसेर आन्दोलन घोषणा गर्ने उनीहरुको तयारी छ । सरकारले भने आवश्यक रणनीति बनाउन वार्ता पछि मन्त्रीपरिषद्को बैठक बोलाएको छ ।



