वीरगञ्ज, ३० माघ । वीरगञ्जमा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपमा सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश यादव घाइते भएका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् ।
उनहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था सामान्य रहेको तामाङले बताए । नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उत्खनन् गरेर लैजाँदै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन् । अहिले त्यस ठाउँको अवस्था सामान्य भइसकेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिकाको पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनि भारतीय बालुवा तस्करले बालुवा उत्खनन् गरेर लैजाने गरेका छन् । ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदिजन्य पदार्थ उत्खनन् गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । जसका कारण भारतीय बालुवा तस्करसँग पटक–पटक विवाद र झडप हुने गरेको छ ।



