शाकाहारीहरूका लागि कटहर वरदान समान छ । अंग्रेजीमा ज्याकफ्रुट भनिने कटहर खासमा फल हो तर नेपालमा तरकारीका रूपमा खाने गरिन्छ ।
मासुमा पाइने पोषक तत्त्वहरू यसमा भेटिन्छ । यसको सेवनले रोगप्रतिरोधक क्षमता बलियो हुन्छ अनि मुटु र आँखासम्बन्धी रोग लाग्न पाउँदैन ।
कटहरमा भिटामिन ए, बी६, सी, क्याल्सियम, फाइबर, प्रोटीन, आइरन, पोटेसियम, फोलिक एसिड, एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुणहरू पाइन्छन् ।
यो खाँदा रक्तचाप नियन्त्रित रहन्छ । त्यसले गर्दा मुटु स्वस्थ हुन्छ र हृदयघातको जोखिम घट्छ ।
यसको सेवनले आँखाको तेज बढ्छ । आँखाको आर्टरीलाई खुम्चिनबाट यसले जोगाउँछ ।
यसमा प्रशस्त आइरन भएकाले रगत बढाउन मद्दत गर्छ । विशेषगरी रक्ताल्पताका रोगीहरूलाई कटहर खाने सल्लाह दिइन्छ ।
कटहरले ऊर्जा बढाउन पनि सहायता गर्छ । पोषक तत्त्वले भरपूर भएकाले यसले कमजोरी र थकान हटाएर दिनभरि ऊर्जावान बनाउँछ । अनि रुघाखोकी तथा मौसमी ज्वरोबाट पनि जोगाउँछ ।
यसमा भएको फाइबरले पाचन क्रिया सही राख्न सहायता गर्छ । अनि पेट दुख्ने, कब्जियत हुने, अपच हुने, एसिडटी हुने समस्या हट्छन् ।
यसमा भएको म्याग्नेसियम र क्याल्सियमले मांसपेशी र हाडहरू बलियो बनाउँछ । बच्चाहरूले र वृद्धवृद्धाले यसको अवश्य सेवन गर्नुपर्छ ।



