काठमाडौं । काठमाडौंलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौं–रसुवागढी सडक (१२२ किमि) छिट्टै सञ्चालनमा आउने भएको छ ।
उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ ।
ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ । बहुचर्चित एवम् बहुप्रतिक्षित मार्ग सञ्चालनमा आएपछि काठमाडौंदेखि चीनको केरुङ करिब चार घण्टामा पुग्न सकिन्छ ।
नेपाली सेना, विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथी उद्धव विष्टले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सरकारले सेनालाई सुम्पिएको समयसीमाभित्रै ट्र्याक खुलाउने काम सम्पन्न हुन लागेको हो । सडक नौ मिटर फराकिलो र डबल लेनको हुनेछ ।
मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण सम्पन्न भएपछि गल्छीदेखि रसुवागढीसम्मको दूरी ८४ किलोमिटर मात्र हुने छ ।
अर्कोतर्फ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई पनि छोटो बनाउने छ ।
यसको निर्माणले बेत्रावतीबाट राम्चे हुँदै धुन्चे नगई सिधै मैलुङ हुँदै स्याफ्रुबेँसी पुग्न सकिनेछ ।
काठमाडौं – गल्छी – बेत्रावती ७५, बेत्रावती – धुन्चे – स्याफ्रुबेँसी ५४ र स्याफ्रुबेँसी–रसुवागढी १६ गरी यो सडक कुल १४५ किलोमिटरको छ ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ती पार गर्नुपर्छ ।
राम्चे र मूलखर्कमा सुख्खा र वर्षात दुवै समयमा आउने पहिरोले यातायात आवागमनमा कठिनाइ हुने गरेका छन् ।
सडक बनेपछि बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको दूरी जम्मा ३१ किमि हुनेछ ।
नेपाली सेनाका अनुसार निर्माणाधीन मैलुङ–स्याफ्रुबेँसी सडक बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २३ किमि छोटो हुनेछ ।
यसैगरी काठमाडौं–रसुवागढी सडकको दूरी कूल १२२ किमि हुन जानेछ । (गोरखापत्र दैनिक)



