काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई समुहबीच अहिले धुम्बाराहीस्थित पार्टी कार्यालयमा वैठक जारी छ । वैठकको बसाइ व्यवस्थापन हेर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेपाल पक्षलाई पुरानै मर्यादाक्रम अनुसार सम्मान दिएको देखिन्छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको हँसिया-हतौडा अंकित ब्यानरका अगाडि नेताहरुले आसन जमाएका छन् । अगाडिको पंतिमा अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल छन् । उनीहरुको वरिपरी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त छन् ।
बसाइको स्टाइल राउन्ड टेबल भए पनि सबै नेताहरूलाई छुट्टाछुट्टै टेबलको व्यवस्था गरिएको छ । धुम्बाराही वैठकमा बसाइ व्यवस्थापनको अर्को विशेषता भनेको सबैको कुर्सी र टेबल उस्तै छन् । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीका लागि विशेष कुर्सी-टेबलको प्रबन्ध हुने गरेको थियो । त्यसलाई लिएर पनि नेपाल पक्षले बेलाबखत असन्तुष्टि जनाउने गरेको थियो । तर, आजको वैठकमा भने ओली र अन्य नेताहरुको कुर्सी-टेबल उही छ ।केही दिनअघि बालुवाटारमा ओलीले विशेष वैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत राखिएको संस्थापन पक्षले जनाएको छ । यद्यपि, मिडियामा भने ओलीले महासचिवबाहेक सबै पदाधिकारी हटाएको समाचारहरू आएका थिए । यसले माधव नेपाल समूह सशंकित बनेको थियो ।



