सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर अघि बढेकाले समूहले भेला आयोजना गरेको हो ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताइ दिएपछि ओलीले एकतर्फी रुपमा पार्टीको नेताहरुको जिम्मेवारी खोस्दै माओवादीबाट एमालेमा आएकाहरुलाई नयाँ जिम्मेवारी दिएको विरोधमा झलनाथ-माधव समूहले भेला डाकेको हो ।
भेला ललितपुरको सानेपा चोकमा रहेको हेरिटेज गार्डेनमा आयोजना गरिएको छ । भेलामा सहभागी हुनका लागि एमालेका तत्कालीन प्रचार विभाग प्रमुख योगेश भट्टराईले सामाजिक सञ्जाल र विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
तर, महासचिव ईश्वर पोखरेलले भने फुटवादी मानसिकता भएकाहरुले आयोजना गरेको भेला अनाधिकृत भएको र सहभागी नहुन निर्देशनसहित विज्ञप्ति जारी गरेका छन् । उनले त्यस्तो भेलामा सहभागी भए पार्टीको विधानअनुसार कारबाही गरिने पनि स्पष्ट पारेका छन् ।
एमाले ब्यूँतिएपछि पार्टी कार्यालय धुम्बाराहीमा भएको शीर्ष नेताहरुसहित अध्यक्ष ओली र नेता नेपालबीचको वार्तामा सहमति नभएपछि नेपाल पक्षले भेला नरोकेको हो । नेपाल पक्षले पार्टी ब्यूँतिएकै अवस्थामा पुगेपछि मात्रै सहमति बन्ने अडान लिएको छ ।
तर, प्रधानमन्त्री ओली भने माओवादीबाट एमालेमा आएका व्यक्तिहरुलाई समायोजन गर्नका लागि गरिएको निर्णय फिर्ता नगर्ने पक्षमा रहेका छन् । पार्टीमा आफू एकल नेतृत्व भएको र आफूसँग स्पष्ट बहुमत भएको ओली समूहको दावी छ । फरक धार बाट साभार



