२४ महिनामै सक्नेगरी संग्रहालयको शिलान्यास

बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरी संग्रहालय निर्माण सुरू भएको छ।यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल-अंग्रेज युद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो। जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहबीच शिलान्यास भएको छ। उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरेका छन्।
बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कठ्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ। संग्रहालय चार तलाको बन्नेछ। पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहने छ। यस्तै, तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनो राखिएको शोभिनियर सप रहने छ। करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो। निर्माण कार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो। बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनालाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन्।
शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी लगायतले निर्माण कार्य समयमै पूरा गर्न आग्रह गरे।निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरी काम गरिने प्रतिवद्धता जनाएका छन्।



