काठमाडौं, ५ चैत । नेकपा एमालेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनालको नाम पनि राखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन् ।
बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेको सांसद महेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।
वरिष्ठ नेता नेपाल–खनाल पक्ष भने आजको संसदीय दलको वैठकमा अनुपस्थित भएको छ । आज सकिंदै गरेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समापन कार्यक्रममा नेपाल–खनाल ललितपुरको सानेपामा व्यस्त छन् ।



