पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको छ ।
पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमा अलआउट भयो। जितसँगै पाकिस्तानले २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि हात पार्न सफल भएको हो। साथै ट्रफिको उपाधी पहिलोपटक चुमेको हो ।
सन् १९९२ मा इमरान खानको कप्तानीमा एकदिवसीय विश्व कपको उपाधि जितेयता पाकिस्तानले आइसिसीको ५० ओभरको महत्वपूर्ण प्रतियोगिता जितेको थिएन।
टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले शतकीय पारी खेले । बलिङतर्फ पाकिस्तानका देब्रे हाते स्विङ बलर मोहम्मद आमिरको प्रदर्शन उत्कृष्ट रह्यो । जमानले १ सय १४ रन बनाए । उनले पहिलो विकेटका लागि अजहर अलीसँग मिलेर १ सय २८ रनको शतकीय साझेदारी गरेका थिए। अजहरले ५९ रन बनाए।
भारतका ३ प्रमुख ब्याट्सम्यान रोहित शर्मा, शिखर धवन र कप्तान विराट कोहली मोहम्मद आमिरको बलमा आउट भए। ३३ रनको स्थितिमा यी तीन ब्याट्सम्यानलाई आमिरले पवेलियनको बाटो देखाएका थिए। अन्य ब्याट्सम्यान पनि खासै चल्न सकेनन् । हार्दिक पाण्डेयले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय पारी खेले ।



