प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै अटोमोबाइल्स कम्पनी खोल्न निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ निजी क्षेत्रका उद्योगी व्यवसायीलाई सम्बोधनका क्रममा ओलीले सबै कुरा विदेशबाट आयात गर्दा मुलुकलाई ठूलो घाटा भइरहेकाले स्वदेशमै अटोमोबाइल्स उद्योग खोल्न भनेका हुन्।
‘अटोमोबाइल्स स्वदेशमै खोल्नुस्, सोचेको भन्दा बढी सुविधा सरकारले दिनेछ’, उनले भने, ‘अहिले नेपालले सबै कुरा विदेशबाटै आयात गर्दा ठूलो घाटा सहनु परिरहेको छ।’
प्रधानमन्त्रीले सम्बोधनका क्रममा १० प्रतिशत ‘डाउनपेमेन्ट’मा गाडी खरिदको अवस्था आएमा ट्राफिक जामको अवस्थाबारे पनि प्रश्न गरेका छन्।
‘अहिले पनि हाम्रो सडकमा अटीनअटी गाडीहरु देखिन्छन्। यदि सरकारले कर घटाउने हो भने १० प्रतिशत ‘डाउनपेमेन्ट’मा जोसुकैले गाडी किनेर चलाउन सक्ने अवस्था आउँछ,’ उनले अगाडि भने, ‘उस्तै परेमा म आफैँ पनि एउटा गाडी किन्न सक्छु, अनि झन् कस्तो होला हाम्रो सडकमा ट्राफिक?’
प्रधानमन्त्री ओलीले छोटो समयमै देशको आर्थिक अवस्था फेर्न चाहेको उनले बताए। ‘हामी टापु नै टापुको देश होइनौँ, दुईतिर विशाल बजार भएका छिमेकी देश छन्’, उनले भने, ‘सरकारले छोटो समयमा पूर्वाधार विकासका काममा थुप्रै काम गरेको छ। तर अब हामीले उत्पादन बढाएर आयात प्रतिस्थापनका लागि काम गर्नुपर्छ। हाम्रा उत्पादनलाई बजारको कुनै समस्या छैन।’
ओलीले बितेका तीन वर्षमा सरकारले असाधारण काम गरेको जिकिर गरे। ‘बितेका तीन वर्षमा सरकारले गरेका काम अभूतपूर्व र असाधारण छन्’, उनले भने, ‘पूर्वाधार विकास र सडक निर्माणमा धेरै ठूला काम गरेका छौँ। हामी अब मुलुकलाई समृद्ध र आधुनिकतातर्फ लैजान्छौँ।’ फरकधार बाट



