नेपालको शहर–बजारका सार्वजनिक शौचालयको अवस्था हेर्दा भित्र पस्नै नसकिने खालको हुन्छ, फोहोर र दुर्गन्धले सास फेर्न नै मुस्किल पर्छ ।सार्वजनिक शौचालयको खराब अवस्थालाई पनि सुधार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् प्रकाश अमात्यले ।प्रकाश अमात्य सार्वजनिक शौचालयका अभियान्ता हुन्, उनको मेहनतले अहिले काठमाडौंका चार स्थानमा स्मार्ट शौचालय सञ्चालनमा रहेका छन् । जसमा प्रमुख रूपले स्वयम्भु, नयाँ बानेश्वर र मंगलबजारमा शौचालय निरन्तर सञ्चालन भइरहेको छ भने पाटनमा धमाधम निर्माण कार्य भइरहेको छ ।त्यसमध्येकै एक स्वयम्भुको स्मार्ट शौचालय पुग्दा वाह भन्ने खालको देखियो । यस्तो पो शौचालय ! जहाँ स्वचालित धारा, फ्लस, स्वास्थ्यमैत्री प्यान, प्राकृतिक झ्याल, जहाँ न कुनै दुर्गन्ध आउँछ, न फोहोरको टुक्रो देखिन्छ ।
सार्वजनिक शौचालयमा प्रयोग भएको सबै चिज यहीँ नै रि–साइकल भएर पुनः प्रयोग हुने गरेको अमात्यले बताए । उनका अनुसार शौचालय महिलामैत्री बनाइएका छन् भने पानी प्रयोगका लागि पर्याप्त व्यवस्था गरिएको छ ।यी सार्वजनिक शौचालयमा जम्मा हुने मलमूत्रलाई आधुनिक प्रविधिबाट प्रशोधन गरेर बायोग्यास तथा मल उत्पादन गर्ने गरिएको छ ।स्मार्ट सार्वजनिक शौचालयमा नियमित सरसफाइ, आधुनिक प्रविधिको प्रयोग, महिला–अपाङ्गमैत्री रहेको अमात्य बताउँछन् ।



