इलाम । इलामकी धनमाया तिम्सिनाले ८५ वर्षमा आकस्मिक खुसी भेटिन् । ४० वर्ष अघि बेपत्ता छोरा दिपक जेलमुक्त भएको खबरसंगै उनको घरमा खुसीको बहार आएको छ । उनको सिंगै जीवनको पाटो हेर्दा भने उनले जीवन विताउने क्रममा थोरै दिन मात्रै चैनको सास फेरिन् ।उनले आठ सन्तान जन्माइन् । ५ छोरा र ३ छोरी जन्माएकी धनमायाँको साथमा दुई छोरी र दुई छोरा छन् । दुई छोरा र दुई छोरीमध्ये दुवै छोरा र एक छोरी मानसिक रोगको सिकार बनेका छन । पाँच छोरा र तीन छोरी मध्ये शुरुमा जन्मिएका दुई छोरा र एक छोरीको बाल्यकालमै मृत्यु भयो ।
तीन सन्तान के रोग लागेर बिते थाहा छैन । उनी भन्छिन् ‘त्यसबेला जीउमा थेग्ला आउने, सुन्निने र छालै उप्किएर २२ दिनको बीचमा ती जना छोराछोरीको निधन भयो ।’ उनले भनिन् । तीन सन्तानको मृत्युपछि अरु दुई छोरा र दुई छोरी जन्मिए । हराएका भनिएका दिपकपछि जन्मिएका छोरा केदारनाथकोे गत मंसिर २८ गते मृत्यू भयो । उनी पनि मानसिक रोगको शिकार भएका थिए । आमा सँग रहेका कान्छा छोरामा पनि स्वास्थ्य सम्बन्धि समस्या रहेको छ ।
धनमायाँका कान्छा छोरा धर्मानन्दलाई पनि मानसिक समस्या देखिएको छ । स्वास्थ्यमा समस्या आएर बिराट नर्सिङ होममा उपचार गराएका धर्मानन्द अहिले नियमित औषधि खाइरहेको उनका छोरा गोपाल बताउँछन । दुई छोरी मध्ये कान्छी छोरी पविमाया पनि मानसिक समस्याले ग्रष्त छिन । उनी परिवारले पकाएर दिएको खाना नखाने र एक्लै घर भन्दा केही तल रहेको बारीको भित्तामा खाना पकाएर खाने गर्छिन । छिमेकी राम सञ्जेल भन्छन ‘पहिले गाउँमा नै सक्रिय रहेकी उनको एक्कासी कसरी मानसिक समस्या भयो अचम्म लागेको छ ।, उनले भने ‘गाउँमा हुने संघ संस्थामा पनि क्रियाशील रहेकी पविमायामा ०५०÷५२ देखि समस्या आएको हो ।’
गाइले हानेर हात भाँच्चियो
धनमायाको एउटा हात छैन । गाईले बालि खायो भनेर गाई फर्काउँन जाँदा गाईले हानेर हात भाँच्यो । त्यसबेला उपचारका लागि अस्पताल थिएन । घरेलु उपचार गरेकी धनमायाँ हात कुहिएर झरेको बताउँछिन । गाईले हानेर हात गुमेको पिडा त छाँदै छ त्यसमाथि झन बज्रपात थपियो ।लाउँला खाउँलाकै उमेरमा श्रीमान गुमाईन बुढेशकालका सहारा होलान् भनेका छोरा छोरी आफै बिरामी परे । ‘श्रीमानको मृत्यू हुँदा कान्छो छोरो गर्भमै थियो’ धनमायाँ भन्छिन । उनको परिवारमा नाति (कान्छो छोरोको छोरो) गोपाल मात्रै काम गर्न सक्ने अवस्थामा छन् । पढ्दै गरेका गोपाल बुबाको स्वास्थ्य समस्या पछि पढाई विग्रेको बताउँछन । गोपालकी आमाको मृत्यू पछि बुबा धर्मानन्दले अर्को विवाह गरे । विवाह गरेर केहि समय राम्रै गरी घर चले पनि यतिवेला गोपालकी सानीआमा छुट्टै बसेकी छिन ।



