इलाम । धेरैलाई लागेको थियो, ४१ बर्षपछि घर फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक) आमा (धनमाया)लाई भेट्दा भावविव्हल वन्छन् । आमा पनि वेपत्ता छोरा भेट्दा भावुक वन्छिन् । तर, जब आइतबार दुर्गाप्रसादले धनमायालाई भेटे, सोचेभन्दा फरक चित्र त्यहाँ देखियो । दुर्गाप्रसादले धनमायालाई न ‘आमा’ भने, न आमा नै भावुक बनिन् । दुर्गाप्रसादले त आमालाई राम्रो ठम्याउनै पनि सकेनन् । उनी आमासँग भेटेपछि एक शब्द पनि बोलेनन् । यसैबाट थाहा हुन्छ कि भारतीय जेलमा दुर्गाप्रसादले कति यातना पाए । अहिले धेरैलाई लागेको छ । दुर्गाप्रसाद घर फर्किएपछि सबै समस्याको हल भयो । तर, यथार्थ यो भन्दा वेग्लै छ । दुर्गाप्रसाद आफंै पनि मानसिक रोगी छन् ।
उनी आफैं कुनै काम गर्न सक्दैनन् । अब दुर्गाप्रसादको यो समस्या हल भएपनि पुन: कारागार लानु पर्ने सम्झौता गरिएको छ । अहिले दुर्गाप्रसाद रोगी भएकै कारण जेलबाट छुटेका हुन् । तर, अब निको भएपनि समस्या छ भने निको नभएपनि समस्या नै । घटना यतिमा मात्र सीमित छैन । घरमा दीपकको स्याहार सुसारमा समस्या देखिएको छ । उनको घरमा भाइको परिवार वहिनी र आमा छन् । वहिनी आफैंमा मानसिक रोगी हुन् ।
उनी घरदेखि केही तल बारीमा एक्लै खाना पकाएर खान्छिन् । वेलुका सुत्न बाहेक उनी घर पुग्दिनन् । आजसम्म पनि दुर्गाप्रसाद घर आएको वहिनीलाई पत्तो छैन । आमा एकातिर वृद्ध छन् भने अर्कातिर अपांगता भएकी । लामो समयअघि गाईको स्याहार गर्ने क्रममा आमाको हात भाँच्चिएको छ । उपचार नहुँदा अगाडिको भाग कुहिएर झरेको छ । यसले उनी छोराको स्याहार गर्न सक्दिनन् । घरमा भएका मध्ये वहिनी र आमाको हविगत यस्तो छ भने भाइको परिवारको अर्कै समस्या छ ।भाइ र वुहारीबीच मेलमिलाप छैन । यो समस्याले अदालतको ढोका ढक्ढक्याइसकेको छ । वुहारीले अंश मुद्दा लगाएकी छिन् । यसैले पनि वुहारीबाट जेठाजुको स्याहार हुन गाह्रो छ । अहिले पनि आमा, भाइ र वुहारीका लागि छुट्टाछुट्टै भान्सा पाक्छ । न एक अर्काबीच बोलचाल छ । न मेलमिलाप । घरमा सबैसँग समन्वय गर्न सक्ने एक पात्र हुन् । भतिजा, गोपाल । गोपाल बाहेक अरु कसैको मेल छैन ।
उज्यालो मुहारभित्र लुकेको दुःख
धनमायाको कोखबाट पाँच छोरा र तीन छोरी जन्मिए । शुरुमा जन्मिएका दुई छोरा र एक छोरीको बालखमै मृत्यु भयो । २२ दिनको बीचमा धनमायाले नौ वर्षकी छोरी, पाँच र तीन वर्षका दुई छोरा गुमाउनु पर्यो । जीउमा थेग्ला आउने, सुन्निने र बिस्तारै छालै उप्किएर उनीहरूको मृत्यु भएको धनमाया सुनाउँछिन् ।तीन छोराछोरीको मृत्यु भएपछि दुर्गाप्रसादसहित अरु दुई छोरा र दुई छोरी जन्मिए । त्यसमध्ये दुर्गाप्रसादपछिका छोरा केदारनाथको गत २८ मंसिरमा मृत्यु भयो । उनी मानसिक रोगी थिए । कान्छा छोरा धर्मानन्दलाई पनि मुटु र मानसिक समस्या देखिएको छ । बिराट नर्सिङ होममा उपचार गराएपछि उनी अहिले नियमित औषधि खाइरहेका छन् ।दुई छोरीमध्ये कान्छी पविमाया तिम्सिना पनि मानसिक रूपमा बिछिप्त छिन् । परिवारले पकाएर दिएको खाना खाँदिनन् । खेतबारी या जंगल छेउछाउमा एक्लै पकाउँछिन् । दिन उतै काट्छिन् । अबेर घर आउँछिन्, सबेरै घरबाट निस्किन्छिन् ।
पहिले गाउँमा नै सक्रिय महिलामा उनको नाम गनिन्थ्यो । स्थानीय स्तरका संघ संस्थामा पनि क्रियाशील थिइन् । ०५०÷५२ देखि उनको मानसिक अवस्था बिग्रिएको स्थानीय कमल सञ्जेलले बताए । ठूलो छोरी पवित्रा गजुरेलको इलामको मंगलबारेमा विवाह भएको छ, घरजम राम्रै छ ।कान्छो छोरा गर्भमै हुँदा पतिको मृत्यु भयो । केही समय एकतप्पामै जीवन गुजारा गरिन् । तर, दुर्गाप्रसादले घर छाडेर हिँडेपछि समस्या थपियो । त्यसपछि एकतप्पाको जग्गा बेचेर लुम्बकमा बसाइ सर्नुपर्यो ।यस्ता पीडा झेल्दै आएकी धनमायालाई ४१ वर्षअघि हराएको छोरा फर्कने खवरले उत्साही बनाएको थियो । तर, छोरो घर फर्किएपछिका दिनमा दुःख पाउला कि भन्ने चिन्ता पनि लाग्ने गरेको उनी सुनाउँछिन् ।
कसरी पत्ता पायो त परिवारले दीपकको बारेमा ?
२०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ ले पठाएको पत्र घरमा आयो । पत्रमा आफू संगम जेलमा रहेको उल्लेख थियो तर त्यो चिठी दीपकले नै पठाएका हुन् भन्ने परिवारलाई विश्वास भएन । तैपनि चिठीको व्यहोराअनुसार खोजतलास गर्दा केही सूचना मिल्यो । उनी भारतकै जेलमा रहेको कुरा । तर, कुन स्थानमा जेलमै छन् थाहा भएन । तर कसरी, किन, कहिलेदेखि उनी जेल परे, अहिले उनी कहाँ छन् भन्ने यकिन गर्न पत्र आएको मितिले आठ वर्ष लाग्यो र जेलमा पुगेर भेटेरै आए । ठूलो बुबा भेट्न गएका दिपकका कान्छो भाइका छोरा गोपाल तिम्सिना भन्छन्, “भाषा पनि विर्सनुभयो होला भन्ने लागेको थियो तर कान्छो भाइको नाम के हो भन्दा धर्मे भन्नुभयो,माइलोको नाम के हो भन्दा केदारनाथ भन्नुभयो, अनि दिदीभन्दा दिदी पनि भन्नुभयो र आमाको भिडियो देखाउँदा हाँस्नुभयो नेपाल जानुहुन्छ भन्दा जान्छु अहिलै जान्छु भने पछि पहिलो पटक ठूलोवूवा देखेको मलाई साह्रै नराम्रो लाग्यो मेरो आँखामा आँशु आयो ।”
दुर्गाप्रसाद जेलमा परेपनि के कारण जेलमा परे पत्तो छैन । परिवार पनि यसप्रति अनभिज्ञ छ । दुर्गाप्रसाद हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको, त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेकोसम्म परिवारले पत्ता लगायो । हत्याको अभियोग थियो भन्ने त थाहा भयो तर हत्या उनले गरे वा अरू कसैले गरेको हत्यामा उनी फसेका हुन् भन्ने पत्तै छैन ।
२०१७ सालमा जन्मिएका दीपकका बुबाको २०२४ सालमा निधन भयो । त्यसपछि गाईले हानेर आमा धनमायाको दाहिने हात छिन्यो ।
के कारण जेल परे त दीपक ?
आफ्नी पत्नी जनु गुरुङको हत्या गरेको भन्दै दार्जिलिङका नैन घलेले सन् १९८० मा दीपकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दुर्गाप्रसादलाई पक्राउ गरेको थियो । “मेरो श्रीमती जंगलमा दाउरा खोज्न गएको थियो । गाउँलेले भने– तेरो स्वास्नीलाई जंगलमा कुनै मानिसले हत्या गरिराखेको छ । यो सुन्नासाथ म घटनास्थलमा गएँ । श्रीमतीलाई चिनेँ । उसको शरीर नांगै थियो, टाउको र देब्रे हात छिनिएको थियो,” जाहेरीमा भनिएको छ, “यो विषयमा सोधपुछ गर्दा गाउँमा इलाम बस्ने नेपाली केटो आएको थियो । त्यसको उमेर करिब २०–२२ को हुनुपर्छ । कालो वर्णको, कोठे पाइन्ट र खैरो रंगको पुरानो ज्याकेट लगाएको, बिहान करिब ८–९ बजेतिर गाउँमा आएको रहेछ । त्यो केटोले आफ्नो नाम दीपक जैसी भनेको थियो ।”




