आशीषबहादुर सिंह
बझाङ। असी वर्ष काटेपछि बसीबसी खानुपर्ने उमेर हो भनिन्छ । तर बझाङका एकजना ९८ वर्षीय वृद्ध भने दोस्रो चरणको स्थानीयतह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्दैछन् भन्दा जोकसैलाई पत्यार नलाग्न सक्छ ।
बझाङको दुर्गाथली गाउपालिका वडा नं ३ बासिन्दा ९८ वर्षीय विष्णुबहादुर रावल नेपाली कांग्रेसका वडाअध्यक्षको चुनाव लड्दैछन् । कांग्रेसले वडाध्यक्षको टिकट दिएपछि उनी सय वर्षको संघारमा युवा जोशसहित चुनाव प्रचारका लागि होमिएका छन् ।
९८ वर्षीय विष्णुबहादुरको नागरितामा उल्लेख भएअनुसार उनको वि.सं. १९७६ जठे ७ गते भएको हो । नागरिकताका आधारमा विष्णुबहादुर ९८ वर्ष पुगिसकेको पाइएको दुर्गाथली गाउँपालिकास्थित निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिएका छन् ।
वडाध्यक्षमा उम्मेदारी मनोनयन दर्ता गराएका उनले आजसम्म आफूले कुनै नराम्रो काम नगरेकाले पनि बयोवृद्ध उमेरमा टिकट पाएको बताउँछन् । ‘जितेँ भने अरु नेताले भन्दा बढी जनतालाई सहयोग गर्नेछु’, उनले भने, ‘मेरो घरमा तीनजना छौँ । श्रीमती र छोरी मात्र छन् । अब मैलै केही गरौँला भन्नुछैन । म दिनरात जनताको सेवामा खटिन्छु ।’
दुर्गाथली गाउँपालिकाका निर्वाचन अधिकृत रिमालका अनुसार सोही वडामा कांग्रेसबाट दलित सदस्यमा ७७ वर्षीया गोपिनी बिकले पनि उम्मेदारी दिएकी छन् ।
आज दाबी विरोध नपरेपछि यी दुवैजना वृद्धवृद्धा चुनावी मैदानमा होमिएका छन् । मनोनयन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको दुर्गाथली गाउँपालिकास्थित निर्वाचन कार्यलयले जनाएको छ ।



