दमक/झापाको दमकमा खुलेको एउटा नयाँ सहकारी संस्थाले शुभारम्भको अवसरमा नै दमकमा नयाँ अनुकरणिय कार्य गरेको छ ।
झापाको दमक ६ पशुपति मन्दिर अगाडि सोमबारदेखि सेवा बिस्तार गरेको न्यू आदर्श समाज सहकारी संस्था लि.ले आफ्नो कार्यक्रममा खाँदा तथा रङ्गिबिरङ्गि ब्याचको सट्टा नयाँ प्रयोग गरेको छ ।
सहकारी संस्थाले कार्यक्रममा निम्त्याइएका अतिथि तथा सहभागिहरुलाइ रङ्गिबिरङ्गिका ब्याचको सट्टा छातीमा नेपालको झण्डा भएको सानो ब्याच र ढाका टोपी लगाइदिएर नयाँ अभियानको थालनी गरेको हो ।
अधिकाँश कार्यक्रमहरुमा कहिल्यै नसडिने खादा र छातीमा रङ्गिबिरङ्गिका ब्याचहरु लगाउने संस्कार नै बिकास भएको छ ।
राष्ट्रियताप्रति ओतप्रोत गराउन नेपालको झण्डा र ढाका टोपीले स्वागत गरेको सहकारीका उपाध्यक्ष रुपक दाहालले बताएकाछन् ।
सहकारीको सेवा शुभारम्भको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले गरेका थिए । उनले सहकारी संस्थाहरु सेवाभन्दा कमाउधन्दामा लागेको भन्दै सहकारीलाइ उदेश्य अनुरुप काम गर्नका लागि सुझाव दिए ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले सहकारीले खादा र ब्याचको सट्टा अभियान थालेको भन्दै यो सकारत्मक भएको बताए ।
कार्यक्रममा दमक उद्योग बाणिज्य संघका दितिय उपाध्यक्ष युवराज घिमिरे, सामाजिक अगुवा काशि खाती, कृष्णराज दाहाल लगायतले सहकारीलाइ शुभकामना दिएका थिए ।
सहकारीका अध्यक्ष भरत खातीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उनले आफूहरुले कमाउनेभन्दा पनि सहज तथा सरल रुपमा सेवा प्रदान गर्ने उदेश्यले सहकारी सञ्चालनमा ल्याएको जनाएका थिए ।
सहकारीले आफ्नो सेवा आरम्भको अवसरमा नै रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । दमक रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा रक्तदान भएको थियो ।



