माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीले गरेको हो ।
तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबीअनुसार प्रदेश नं. १ को १३७ मध्ये ५० देखि ५५ तहमा, ५ को १ सय ९ मध्येमा ४६ तहमा र ७ को ८८ मध्ये २५ देखि ३० स्थानमा माओवादीले जित्नेछ । पहिलो चरणको निर्वाचनको गम्भीर समीक्षासहित विशेष अभियानमा रहेकाले निर्वाचन परिणाम सुखद आउने माओवादी प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले बताए ।
माओवादी आँकलन
प्रदेश नम्बर १
स्थानीय तह : १३७, दाबी : ५०–५५
प्रदेश नम्बर ५
स्थानीय तह : १०९, दाबी : ४६
प्रदेश नम्बर ७
स्थानीय तह : ८८, दाबी : २५–३०
‘पहिलो चरणमा चुनावको अनुभव त्यति थिएन, अहिले केन्द्रीय कार्यालयबाटै गम्भीर समीक्षा गर्दै चुनावमा होमिएका छौँ,’ किरातीले भने, ‘खर्च बढे पनि चुनावी अभियानमा लाग्ने लामो समय मिल्यो, जनताको बीचमा राम्रैसँग पुग्न पाइएको छ । सुखद नतिजा नै आउँछ ।’
प्रदेश नं. ५ मा खटिएका माओवादी नेता चक्रपाणि खनालले पार्टीको प्रचार अभियान गाउँ तहसम्मै पुगेको, कमजोर रहेका स्थानमा तालमेल गरी निर्वाचन लडेका कारण अपेक्षित नतिजा ल्याउने बताए । ‘कमजोर रहेका स्थानमा तालमेल गरेर निर्वाचन लड्दै छौँ, पार्टी संगठन पनि योबीचमा गाउँ, वडा तहसम्मै पुर्याउन सफल भयौँं,’ खनालले भने, ‘यस हिसाबले पनि नतिजा पहिलो चरणको भन्दा राम्रै आउनेमा हामी विश्वस्त छौँ ।’
माओवादीले प्रदेश नं. ७ मा पार्टी एजेन्डा, उम्मेदवार छनोट र नेता–कार्यकर्ताको परिचालन व्यवस्थित बनाउन सकिएकाले परिणाम अपेक्षित आउने जिकिर गरेको छ । इन्चार्ज लेखराज भट्टले निर्वाचनले पार्टीको संगठनलाई पुनर्ताजगी गरेकाले पहिले गुमेको जनमत फर्किन थालेको बताए ।
‘परिणाम राम्रै आउँछ, प्रदेश नं. ७ मा हामी एक्लै चुनावी प्रतिस्पर्धामा छौंँ,’ भट्टले भने, ‘संगठन पुनर्ताजगी हुँदै गएकाले पनि नतिजा राम्रै आउँछ ।’



