प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार भएको भेटवार्तामा सहभागी जसपका नेता लक्ष्मणलाल कर्णका अनुसार मुद्दा सम्बोधनका विषयमा कुराकानी भएको हो ।
‘हामीले हाम्रो मुद्दा कति सम्बोधन भयो, कुन-कुन प्रक्रिया अगाडि बढ्यो, के गर्दै हुनुहुन्छ ? भनेर सोधेका थियौं,’ जसपाद्वारा गठित कार्यदलका सदस्य समेत रहेका नेता कर्णले लोकान्तरसँग भने, ‘जवाफमा प्रधानमन्त्रीज्यूले गर्दैछौं, सम्बोधन हुँदैछ भनेर पुरानै कुरा दोहोर्याउनुभयो ।’
हालसम्म कुनै ठोस उपलब्धि भने हासिल नभएको कर्णले बताए ।
सत्ता समीकरणमा निर्णायक रहेको जसपाले हालसम्म समीकरणका विषयमा निर्णय लिन सकेको छैन ।
जसपाको एउटा पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्को पक्ष कांग्रेस-माओवादी गठबन्धनसँग निकट देखिँदै आएका छन् ।



