संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।
संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेका बेला उदण्डता मच्चाइ अराजकता देखाएका यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेका थिए । त्यतिबेला देखिनै उग्र स्वभाव देखाउँदै आएका यादवले विहिबार स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् ।
पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी व्यक्तिलाई लिएर एलडिओ पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । एक कर्मचारीका अनुसार अँगरक्षक र कर्मचारीहरुले भित्र गई ढोका लगाएर पोखरेललाई बचाएका थिए ।
यता स्थानीय विकास अधिकारी पोखरेलले आफूमाथि हातपातको प्रयास भएको पुष्टि गरे । ‘भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू आज पिटाई खान सक्ने अवस्था आउथ्यो, तत्कालै कर्मचारीहरु आउँदा मलाई केही भएन्,’ उनी भन्छन् ।यता सांसद यादवले आफूले हातपात गर्ने त्यस्तो कुनै काम नगरेको दाबी गरेका छन् । दैनिक नेपाल बाट



