काठमाडौं । कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर पछिल्लो २४ घण्टामा बिहीबार २ हजार ४ सय २८ संक्रमित थपिँदा २ सय ५२ जना मात्रै निको भएका छन्।
सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुवातमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ।
दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन। व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पुर्याएर बिरामीको उपचार गरिरहेको बताए। तर, बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ।
‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ?’, ओलीले भने, ‘प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन्। हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन बिना उपचार सम्भव छैन। भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो। सरकारले यसमा चासो दिनुपर्यो।’ समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।



