(पार्थ मण्डल) झापा । भारतको बङ्गाल तथा विहार राज्यसँग जोडिएको झापा जिल्लामा कोरोना भाइरस फैलिने अवस्था भयावह देखिएसँगै जिल्ला प्रशासन कार्यालय झापाले लगाएको निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ ।
जिल्लामा वैशाख १९ गतेदेखि लगाइएको आंशिक निषेधाज्ञाको निर्णयलाई पुनः सच्याउँदै प्रशासन कार्यालयमा मङ्गलवार बेलुका बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले वैशाख २२ गते बुधवार मध्यराती १२ बजेदेखि वैशाख ३१ गते मध्यराती १२ सम्म पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
हाल लगाइएको निषेधाज्ञाको सर्वसाधारण जनताले पूर्ण रुपमा पालना नगरेको निष्कर्ष निकाल्दै थप कडाइका साथ पूर्ण निषेधाज्ञा जारी गरिएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । जिल्लामा मङ्गलवार १६२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्ला सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुगेको छ, भने हालसम्म १३६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तो छ निषेधाज्ञाको निर्णयहरु

सर्वसाधारणका लागि : अत्यावश्यक काम (औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद) बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड (नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्ने) को अनिवार्य पालना गर्ने, हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायतमा भिडभाड हुने कार्य नगर्ने नगराउने, कोरोनाको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्ने र सर्वसाधारणका जनताका लागि यस्तो निर्णय गरिएको छ ।

सरकारी कार्यालय र वित्तीय संस्था सञ्चालन सम्बन्धमा : सरकारी र सार्वजनिक कार्यालय तथा बैङ्क र वित्तीय संस्थाहरूमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो पद्धति अनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यवस्था मिलाउने । घरबाटै गर्न सकिने कामको व्यवस्था मिलाउने, यसरी आलोपालोमा अनुपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने । साथै सरकारी, सार्वजनिक र अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालयको परिचय पत्रका आधारमा सवारी साधन चलाउन पाइने निर्णय गरेको छ ।

पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा : खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरू बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, अन्य पसल तथा व्यवसाय पूर्ण रूपले बन्द गर्ने । स्थानीय स्तरमा होम डेलिभरीका लागि आवश्यक व्यवस्था मिलाउने, होटेल तथा रेस्टुरेन्ट, मिठाई र चिया पसल पूर्ण रूपले बन्द राख्ने । अनलाइन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयं आएर प्याकिङ गरी लैजाने टेक वे विधि प्रयोग गरी सञ्चालन गर्ने, होटेलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाइने, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने र सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरू सञ्चालनमा समेत रोक लगाउने निर्णय गरिएको छ ।

सवारी साधन सञ्चालन सम्बन्धमा : जोर बिजोर प्रणालीको नियम खारेज गर्दै अत्यावश्यक सेवाहरू बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारी साधन निषेधाज्ञाभरि झापा जिल्लाभर सञ्चालनमा पूर्ण रूपले रोक लगाउने, अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दुग्धजन्य पदार्थ, पशुपक्षी तथा पशुपक्षीजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दूरसञ्चार, विद्युत्, इन्टरनेट, क्वारेनटिन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका सवारी साधनहरू विषय उल्लेख गरी सञ्चालन गर्न पाउने र सञ्चारकर्मी र पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासङ्घको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने निर्णय गरिएको छ ।

उद्योग, कल कारखाना र निर्माण कार्य सञ्चालन सम्बन्धमा : उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेनटाइनको व्यवस्था सम्बन्धित उद्योगले गर्ने, राष्ट्रिय गौरव र महत्त्वका आयोजना र परियोजनाको निर्माण कार्यलाई निरन्तरता दिने, निर्माण सामाग्री बोकेका सवारी साधन चल्न पाउने, सार्वजनिक तथा निजी निर्माण कार्य गराउँदा कामदारलाई निर्माण स्थलमा नै राख्ने व्यवस्था मिलाएर सञ्चालन गर्ने निर्णय गरिएको छ ।

विवाह तथा मृत्यु संस्कार सम्बन्धमा : विवाहको लागि बढीमा १० जनासम्म जन्ती जान आउन दुलाहा दुलही सहित २ वटा सवारी साधनमा ५-५ जना सम्म व्यक्ति ब्यानर राखेर प्रयोग गरी जिल्ला भित्र वा अन्य जिल्लामा आवत जावत गर्नु पर्दा प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने, विवाह तथा व्रतबन्ध आयोजनाका लागि २५ जना भन्दा बढी नहुने गरी सहभागी हुन पाउने, मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनु पर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त ब्यहोरा खुल्ने कागजात ९निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस० सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेस गर्नु पर्ने निर्णय गरिएको छ ।

सीमा नाका सम्बन्धमा : कोरोना भाइरसका संक्रमण अत्यधिक बढिरहेकोले सोको नियन्त्रणका लागि सीमा नाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने, आपूर्ति प्रणाली सुचारु राख्न काँकडभिट्टा सीमा नाका यथावत् सञ्चालन गर्ने, आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने, काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरूको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने र यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने निर्णय गरिएको छ । साथै अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्मा खोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरिएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah