झापा – झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ । कोरोना सङ्क्रमित र अरु बिरामीलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला अस्पतालमा लैजान सहयोग गर्छन् ।
यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि ठाउँबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले जानकारी दिनुभयो ।
नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जली अस्पताल सञ्चालित छन् । यसैबीच, झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिण्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।



