कपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चाका बीच सो समूहका केही प्रभावशाली नेताहरूले त्यसबारे अनविज्ञता प्रकट गरेका छन् ।
नेपाल पक्षका २० जना जति सांसद्ले आइतवार सामूहिक राजीनामा दिने तयारी गरेको चर्चा हिजोदेखि चलिरहेको छ ।
खनाल–नेपाल पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले भने राजीनामाबारे आफूलाई थाहा नभएको बताए ।
‘मलाई थाहा छैन । म सञ्चो नभएर घरमै सुतिरहेको छु, है त,’ लोकान्तरसँग आइतवार बिहानको संक्षिप्त कुराकानीमा पाण्डेले भने ।
पाण्डे नेता नेपाल, भीम रावल र घनश्याम भुसालसँगै पहिलो चरणमा स्पष्टीकरण सोधिएर कारवाहीमा परेका नेता हुन् ।
राजीनामाबारे उनको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि उनले संसद्मा प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिएर पार्टीभित्रै संघर्ष गर्ने अभिव्यक्ति दिएका थिए ।
उनी चितवनबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
खनाल–नेपाल पक्षकै सांसद हिराबहादुर केसी र राजबहादुर बुढाले पनि राजीनामा गर्न इन्कार गरेको स्रोतको भनाइ छ ।
नेता नेपालसहित केही सांसदले भने आइतवार राजीनामा दिने तयारी गरेको सो समूहका एक सांसदले जानकारी दिए ।
-लोकान्तर बाट



