अक्सिजन आपूर्तिका लागि सरकारमार्फत अनुमति लिनुपर्ने भएसँगै अस्पताल र बिरामीको छटपटाहट सुरु भइसकेको छ।

सरकारले निर्णय गरेको भोलिपल्टै उपत्यकाका अधिकांश अस्पतालले ‘अक्सिजन अभाव’का कारण ठूलो संख्यामा बिरामी संकटमा परेका छन्।

अस्पतालले अक्सिजनको कारण देखाउँदै बिरामीलाई घर लैजान वा अन्य ठाउँमा सार्न दबाब दिन थालेपछि बिरामीका आफन्तमा आक्रोश र निराशा बढेको छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै उपत्यकाका सरकारी र अधिकांश निजी अस्पतालले पनि संक्रमितको उपचार गरिरहेका छन्। निरन्तर सेवा दिइरहेका छन्।

यसपटक अस्पताल भर्ना भएकामध्ये ८० प्रतिशतभन्दा बढी संक्रमितलाई अक्सिजन अनिवार्य रहेको विज्ञहरूले बताएका छन्।

यही अवस्थामा सरकारले गरेको निर्णयका कारण बिरामी ज्यान गुमाउन बाध्य हुने उनीहरू बताउँछन्।

अस्पतालमा राखिएका बिरामीलाई जुनसुकै बेला पनि अक्सिजन चाहिन सक्छ। तर सरकारले गरेको निर्णयअनुसार अब कुनै पनि अस्पतालले भनेका बेला अक्सिजन आपूर्ति गर्न सक्ने अवस्था छैन।

आवश्यक तयारी गर्नुपर्ने बेला सरकार अत्तालिएर बेतुकको निर्णय गर्दा अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा सरकारले लिनुपर्ने पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा बताउँछन्।

‘सरकारले गरेको निर्णयले कैयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका बन्द भएका छन्। कैयौँ बिरामी घर फर्किएका छन्। यसको जिम्मा कसले लिने? अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्ने व्यक्तिले लिनुपर्छ’, सरकारप्रति आक्रोश पोख्दै थापाले आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गरेका छन्।

प्रतिदिन अस्पतालमा बिरामीको चाप बढ्दो छ। अस्पतालमा अक्सिजनको माग पनि बढ्दै गएको छ। यस्तो अवस्थामा सरकारको यो कदमलाई अस्पतालहरूले अमानवीय र निराशाजनक बताएका छन्।

आइतबारदेखि उपत्यकाका अधिकांश अस्पतालले नयाँ बिरामी भर्ना बन्द गरिसकेका छन्। वसुन्धरास्थित कान्तिपुर डेन्टल अस्पतालले कोरोना भाइरस संक्रमित ८० वर्षीया महिलालाई अक्सिजन अभावका कारण उनको उपचार सम्भव नभएको भन्दै बिरामीका आफन्तलाई ताकेता गरिरहेको छ।

बिरामीका आफन्त केशव पौडेलले भने, ‘अस्पतालबाट यस्तो व्यवहारको अपेक्षा नगरिएको र यसको अर्थ बिरामीलाई मर्न विवश पार्नु हो।’

अक्सिजन आपूर्ति गर्न नसक्दा अस्पतालमा उपचाररत बिरामीलाई समेत घर फर्काउनुपर्ने अवस्था सिर्जना भएको कान्तिपुर डेन्टल अस्पतालका सञ्चालक डा. बुद्धिमान श्रेष्ठले बताए।

‘हामीले बिहानैदेखि नयाँ बिरामी भर्ना लिएका छैनौँ। भर्ना पनि कसरी लिनु? अस्पतालमा अक्सिजन छैन।’

अक्सिजन आपूर्ति गर्न नसक्दा उपचार गराइरहेका बिरामीलाई समेत घर जानुस् भन्नुपर्ने अवस्था आएको उनले बताए। उनले भने, ‘अक्सिजन पुर्‍याउन नसक्ने भएकै कारण अहिले हामीले नयाँ भर्ना नलिने र घरमा लग्न मिल्ने बिरामीलाई घर लैजान आग्रह गर्दै सूचना निकालेका छौँ।’

उनका अनुसार कान्तिपुर अस्पतालमा दैनिक १२० वटा सिलिन्डर खपत हुँदै आएको छ। अस्पतालमा अहिले ४६ जना बिरामीलाई अक्सिजनको सपोर्टमा राखिएको छ।

जसमध्ये ३ जना भेन्टिलेटरमा छन् भने ३ जनालाई हाई फ्लोमा राखिएको छ। ‘हामी हिजै कोल्याप्स हुने अवस्थामा पुगिसकेका थियौँ। हिजो राति बल्ल–बल्ल अक्सिजनको जोहो गर्‍याैँ । अक्सिजन १० मिनेट मात्रै ढिला भयो भने पनि बिरामीको ज्यान तल–माथि हुने अवस्था हुन्छ’, उनले भने।

अक्सिजनको हाहाकार हुँदै गर्दा आफ्नो अस्पतालले सरकारलाई सिलिन्डर भर्न अनुमति मागे पनि ६० वटा सिलिन्डरका लागि मात्रै अनुमति पाएको उनले बताए।

‘कम्तीमा पनि ९० वटा सिलिन्डर चाहिन्छ। त्यो पनि बिरामीको अवस्थाअनुसार हुन्छ’, उनले भने, ‘अहिले फेरि उत्पादक कम्पनीले ६–६ घण्टाको अन्तरमा १० वटा सिलिन्डर पठाउन सक्छौँ भनेका छन्। ३० वटा सिलिन्डर नभई ६ घण्टा चल्दैन। अब हामी १० वटा सिलिन्डरले ६ घण्टा कसरी चलाउन सक्छौँ।’

कान्तिपुर अस्पताल मात्र हैन। किष्ट मेडिकल कलेजले पनि बिरामीका लागि अक्सिजन उपलब्ध नरहेको भन्दै बिरामीका परिवारलाई घर लैजान या अन्यत्र सार्न आग्रह गरेको छ।

यस्तै, जावलाखेलस्थित अल्का अस्पतालले बिरामीलाई अब सेवा दिन नसक्ने जनाएको छ।

शुक्रबार राति सरकारले जारी गरेको आदेशमा अबउप्रान्त अक्सिजन उत्पादन केन्द्रहरूले स्वास्थ्य मन्त्रालयको स्वीकृति तथा अनुमोदनपछि मात्र अस्पताल या अन्य कसैले अक्सिजन लैजान सक्ने उल्लेख गरेको छ।

‘हामीले नियमित आपूर्तिकर्ता उत्पादन केन्द्रलाई सम्पर्क गरे पनि सीधै आपूर्ति गर्न नसक्ने जवाफ उनीहरूले दिएका छन्। परिस्थितिअनुसार हामीले अप्रिय निर्णय लिनुपर्ने विवशता आउन सक्छ’, अस्पताल सञ्चालक प्रमुख कुमार थापाले भने।

यस्तै, थापाथलीस्थित नर्भिक अस्पतालले पनि अक्सिजन रिजर्भ कमी हुँदै गएको बताएको छ।

‘सरकारको यो कदम स्वास्थ्य सेवा प्रवाहका लागि नकारात्मक सावित हुनेछ’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले भने।

राति या कार्यालय समयबाहिर पनि अक्सिजन आफूर्तिको आवश्यकता पर्न सक्ने र त्यो अवस्थामा आपूर्तिकर्ता तथा खरिदकर्ताबीच अनावश्यक प्रक्रिया थपिँदा गम्भीर बिरामीहरू अक्सिजन अभावमा मर्न सक्ने अवस्था आउनेबारे अस्पतालका चिकित्सकहरू चिन्तित छन्।

अस्पतालमा बेड भए पनि अक्सिजनको कमी भएकाले आइतबारदेखि नयाँ बिरामी भर्ना नलिने भन्दै ओम अस्पतालले पनि सूचना जारी गरेको छ।

अस्पतालमा अहिले करिब सय जना बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिष जोशीले बताए। उनले भने, ‘कोभिड नन–कोभिड दुवैको उपचार भइरहेको छ। आइसीयू सबै भरिएको छ।’

सरकारले स्वीकृति लिएर सिलिन्डर भर्न पाउने भन्दै सूचना जारी गरेपछि सोहीअनुसार ओम अस्पतालले पनि बिरामीको उपचारका लागि चाहिने सिलिन्डरको संख्या लेखेर अनुमति मागेको थियो। तर, सरकारले भने अस्पताललाई ६० वटा सिलिन्डर तोकिदिएको उनले बताए।

उनले भने, ‘सरकारले तोकेको ६० वटामा आइतबार ४८ वटा सिलिन्डर हामीले पाएका छौँ। तर, यसले गर्दा हामीकहाँ उपचाररत बिरामीलाई पनि अक्सिजन पुर्‍याउन नसक्ने अवस्थामा पुगेका छौँ। पुराना बिरामीलाई कसरी म्यानेज गर्ने भन्ने भइरहेका बेला नयाँ बिरामीलाई भर्ना गर्न सक्ने अवस्थामा हामी छैनौँ।’

डा. जोशीका अनुसार दैनिक रूपमा १२० देखि १४० सिलिन्डर अस्पतालमा प्रयोग हुँदै आएको छ। १४ जना कोभिडका बिरामी मात्रै आईसीयूमा उपचार भइरहेको छ भने ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

जसमध्ये ५ जनालाई हाई फ्लोमा राखिएको डा. जोशीले बताए। ‘हाई फ्लोमा कति अक्सिजन चाहिन्छ, त्यो कुरा हामीले सरकारलाई बुझाइरहनु पर्दैन’, उनले भने, ‘अनि हामीसँग १० वटा हाई केयर छन्। १० वटैमा भरिएका छन्। यहाँ पनि बिरामीलाई हामी हाई फ्लो अक्सिजन दिएर राख्ने गर्छौँ। ३० जना आइसोलेसनमा हुनुहुन्छ। उहाँहरू पनि सबैले अक्सिजन प्रयोग गरिरहनुभएको छ।’

महामारीमा उपचार गर्छौँ भन्दा भन्दै पनि सरकारले उपचार गर्नका लागि अस्पतालहरूलाई साधन स्रोतको उपलब्धता नगराउनु दुर्भाग्यको कुरा भएको उनले बताए।

उनले भने, ‘मुख्य समस्या भनेकै अक्सिजन हो। हामीसँग सबै कुरा छ तर अक्सिजन छैन। सरकारले अस्पतालको आवश्यकताअनुसार सिलिन्डर सप्लाई गरिदिए उपचारमा कुनै बाधा पुग्ने थिएन। तर, अहिले हामीले आवश्यक परेका बिरामीलाई सेवा दिन पाएका छैनौँ।’

यस्तै, रिङरोडस्थित बिपी स्मृति अस्पतालले पनि अक्सिजनको कमीको स्थिति जारी रहेमा भोलिदेखि बिरामीलाई नियमित सेवा दिन कठिन हुने अस्पतालले जनाएको छ।

अस्पतालमा अहिले २३ जना संक्रमित छन्। तर, अक्सिजन नहुँदा उनीहरू आवश्यक सुविधा र उपचारबाट वञ्चित हुने सञ्चालक डा. केदारनरसिंह केसीले बताए।
उनले भने, ‘हामीलाई पनि आपूर्तिकर्ताले पहिलाजस्तो सोझै अक्सिजन अस्पतालमा पठाउन नसक्ने बताएका छन्।’

यस्तै, संघसंस्थाले अक्सिजन आफूखुसी किन्न नपाउने निर्णय सरकारले गरेसँगै संक्रमितको उपचारका लागि खोल्न लागिएको २० बेडको आइसोलेसन अहिलेलाई स्थगन गरिएको भन्दै अरुण नाम ट्वीटर ह्यान्डलमा ट्वीट गरिएको छ।

अक्सिजन नै नपाउने भए आइसोलेसन निर्माण गर्नुको केही अर्थ छैन भन्ने भावमा उनले ट्वीट गरेका छन्। तर, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने बिरामीको संख्याका आधारमा अक्सिजन पाइने बताउँछन्।

उनले भने, ‘वार्डमा, आईसीयूमा, भेन्टिलेटरमा बिरामीको संख्या कति छ र कतिलाई उपचार गरिरहेका छन्। त्यसैको आधारमा अक्सिजन पाइनेछ।’

उनका अनुसार सिलिन्डर घर–घरमा थन्किन थालेपछि सरकारले यस्तो निर्णय लिएको हो।

‘अक्सिजन घरमा बसेका व्यक्तिले प्रयोग गर्ने होइन। गाह्रो भएको खण्डमा घरमा बसेर अक्सिजन लगाउने होइन। अस्पताल जाने हो। अस्पताल पुगिसकेपछि आकस्मिक कक्षमा राखेर भए पनि उनीहरूको उपचार हुन्छ’, उनले भने, ‘घरमा बसेर अक्सिजन प्रयोग गर्दा कति जटिल छ भन्ने थाहै हुँदैन। अनि बिरामीको ज्यान जान सक्छ।’

शनिबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरे पनि आइतबारदेखि अस्पताललाई स्वीकृति र अनुमति भने सीसीएमसीले दिनेछ।
राजधानीमा ८ वटा अक्सिजन केन्द्र छन्।

तर, सरकारको स्वीकृति र अनुमति आवश्यक हुँदा कार्यालय समयमा मात्र अक्सिजन आपूर्ति हुन सक्ने अवस्था उत्पन्न भएको अस्पतालहरूले बताएका छन्।
-देशसंचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah