गुल्मी, असार १२ — गुल्मीको कालिगण्डकी गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेपाल विद्यार्थी संघका ६ जना कार्यकर्ता घाइते भएका छन् ।
आइतवार राति ११ बजे एमाले कार्यकर्ताको कुटपिटबाट नेपाल विद्यार्थी संघ अर्वेनीका ७ जना नेताहरु घाइते भएको नेविसंघ गुल्मीका नेता झविन्द्र पाण्डेले बताए ।
पाण्डेले एमालेले आफूले चुनाव हार्ने अवस्था आएपछि कांग्रेस कार्यकर्तामाथि कुटपिट सुरु गरेको आरोप समेत लगाएका छन् । पाण्डेका अनुसार अर्बेनीका नेता उत्सव न्यौपाने सहित अरु ६ जना नेविसंघका कार्यकर्ता घाइते भएका छन् ।
घाइतेहरुको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । नेविसंघ गुल्मीले कुटपिट गर्नेमाथि तत्काल कारबाही गर्न माग समेत गरेको छ ।
एमाले चाहिँ सामान्य विवादको क्रममा असामान्य अवस्था सिर्जना भएको बताएको छ ।
कालिगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट बेद मगर र एमालेको तर्फबाट टिकाराम ढकाल अध्यक्षको प्रतिस्पर्धामा छन् । मगर कांग्रेसीबृत्तमा जिल्लाभर नै रुचाइएका नेता हुन् । ढकाल चाहिँ एमालेका पुराना नेता हुन् ।
कालिगण्डकी गाउँपालिकामा कांग्रेस र एमालेको रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमालेले दुई पक्षिय झडप भएको र त्यहाँ आफ्ना पनि कार्यकर्ता घाइते भएको बताएको छ ।



