नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु २ वृद्धि गरेको हो । बढेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमको निर्णयसँगै काठमाडौं उपत्यकाभित्र पेट्रोलको मूल्य अब एक लिटरको १२३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै हवाइ इन्धनको ७८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ । निगमले भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यको आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य कायम गर्दै आएको छ ।



