नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक संघर्ष गर्दा कोभिड भाइरस संक्रमणको महामारीलाई अन्देखा नगर्ने स्पष्ट पारेको छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको जीवन रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गरेर कार्यक्रम गर्ने बताए ।
‘कोभिडलाई अन्देखा परेर कुनै कार्यक्रम गर्दैनौं, जनतालाई रक्षा गर्ने कुरामा ध्यान केन्द्रित गर्दै कार्यक्रम गर्छाैं,’ आन्दोलनका कार्यक्रमबारे स्पष्ट पार्दै प्रवक्ता श्रेष्ठले भने, ‘सबै शक्तिसँग एकतावद्ध भएर राजनीतिक र कानूनी सबै प्रकारको संघर्ष अगाडि बढाउने निर्णय भएको छ ।’
कोरोनाले जनताको पेटको समस्या निम्तिएको बेला समग्र पक्षलाई ध्यान दिएर संघर्ष गरिने उनले बताए । ‘कोरोनाको भयावह संकटबाट हामी गुज्रिराखेका छौं । कोरोनाको महामारीबाट जनताको ज्यान गइरहेको, त्यसले स्वास्थ्य संकट मात्रै होइन, जनताको पेटको भोकमरीको समस्यालाई निम्तो गर्दैछ, अर्थतन्त्र धरासायी बन्न खोज्दैछ, यसको समग्र पक्ष ध्यान दिएर प्रतिवाद गर्ने कुरा आउँछ ।’
प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध अन्य राजनीतिक पार्टी, सामाजिक शक्ति, नागरिक समाज, पेशाकर्मी, आमजनसमुदायलाई हरतरहले प्रतिवाद गरेर संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एकजुट हुन अपिल गर्ने निर्णय भएको समेत बताए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि विपक्षी दल आन्दोलित बनेका छन् ।



