सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाअन्तर्गतको तिङ्ला मतदान केन्द्रमा अहिलेसम्म एउटा मत पनि खसेको छैन । करिब १२ सय मतदाता रहेको सो केन्द्रमा मतदान गर्न कोही गएका छैनन् । पूर्वसभासद् आङदावा शेर्पाले कुनै पनि मतदाता मत खसाल्न नगएको जानकारी दिए ।
सल्लेखी दूधकुण्ड गाउँपालिकासँग निकट क्षेत्र भए पनि आफूहरूलाई नेचासल्यान गाउँपालिकामा राखिएको भन्दै तिङलाका स्थानीय आन्दोलित थिए । उनीहरूले तिङलालाई दूधकुण्डमै राख्न माग गर्दै आएका थिए । तर, उनीहरूको माग सुनुवाई नभएपछि आज मतदान गर्न नगएका हुन् ।
उनीहरूले मतदान परिचयपत्रसमेत लिएका छैनन् । मतदान केन्द्रमा कर्मचारी मतदाताको प्रतीक्षामा बसिरहेका छन् । सोलुखुम्बुका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ ।



