रौतहटमा आइतबार राति सुरक्षाकर्मी र स्थानीयबिच झडप भएको छ । जिल्ला गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा भएको विवाहमा डिजे बजाएर भीडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो । निषेधाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रहरीले भीड नगर्न भनेको थियो ।
झडपमा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । प्रहरी टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुंगामुढा, बासको लौरोले प्रहार गरेका थिए ।
‘पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ’ डीएसपी द्वारिका घिमिरेले भने, ‘स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि थप प्रहरी जाँदा आक्रमण भयो ।’
उक्त टोलको तीन घरमा ठूलो आवाजमा डिजे बजाएको थाहा पाएर बन्द गर्न आग्रह गर्दा एक्कासी ढुंगा प्रहार गरेको प्रहरीको भनाइ छ । झडपमा डीएसपी घिमिरेको टाउको र ढाडमा समान्य चोट लागेको छ । त्यस्तै अन्य ६ प्रहरी घाइते भएका छन् ।
प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ ।



