दमक – दमक नगरपालिकाका बिभिन्न क्षेत्रहरु गएरातिदेखीको अबिरल बर्षाका कारण डुबानमा परेका छन् । पानीको उचित निकास नभएका कारण यस क्षेत्रमा बिभिन्न भेगहरु डुबानमा पर्दै आएका छन् । गए रातिदेखी झापा लगायत देशका बिभिन्न क्षेत्रमा परेको पानीका कारण मुलुकका बिभिन्न क्षेत्रहरु डुबानमा परिरहेका बेला झापाको दमक नगरपालिकापनि डुबानको समस्यमा परेको छ ।
नगरपालिकाको वडा नम्बर १ स्थित कुमाल चोक, पञ्चमुखी टोल लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । पानी निकाशको भरपर्दो ब्यवस्था नहुँदा सामान्य बर्षामापनि यि क्षेत्र डुबानमा पर्ने गरेका छन् । अर्कोतिर बिभिन्न संरचना निर्माण गर्दा पानीको निकासलाई ध्यान दिनुपर्ने भएपनि त्यसो नगरिएका कारण हरेक बर्खामा यि क्षेत्रहरु डुबानको चपेटामा पर्दै आएका छन् । एउटा संरचना बनाउँदा अर्काे संरचनालाई असर गर्छ कि गर्दैन भनेर हेर्ने काम नहुनुनै यि क्षेत्र हरेक बर्खामा डुबानमा पर्नुको कारक मध्येमा पर्ने गरेका छन् ।
दमकका यि क्षेत्रमात्र हैन अन्य क्षेत्रको समस्या पनि उस्तैनै छ । नगरका सडकहरु फराकिलो त बनेका छन् तर अधिकांश सडकमा ढलको निकास भने खोलिएको छैन । जसले गर्दा सामान्य वर्षात हुँदा पनि दमकमा डुबान हुने गरेको छ । गएराति देखीको अबिरल बर्षाले नगर क्षेत्रमा पर्ने मुख्य सडकमै पनि खोलो कुदेझै अवस्था बनाएको छ भने कतै स–साना पोखरीनै बनेका छन् ।
सडकमा पानी जमेकै कारण सडक आसपासका बासिन्दा, व्यापारी तथा यात्रुले निक्कै सास्ती खेप्नुपरेको छ ।





