चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढेको छ ।
असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका ७ वटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि संक्रमितको संख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण संक्रमितको संख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिन्टेन्डेन्ट डा. टसी याञ्जुक लामाले जानकारी दिए ।
‘केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ,’ डा. लामाले भने, ‘यस्तै प्रकारले संक्रमितको संख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै संक्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।’
निषेधाज्ञा हटाएको १ हप्तामै जिल्ला अस्पतालमा लक्षण सहितका संक्रमितको संख्या बढेको उल्लेख गरेका डा. लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिए ।
लक्षण सहितका ४ जना कोरोना संक्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडीयू कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सञ्चालन गरेको रानीवन आइसोलेसनमा राखिएका ४ जना संक्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतवार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडीयूमा सारिएको जिल्ला अस्पतालका डा. लामाले बताए ।



