काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेका छन् ।
जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो । मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।
कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् ।



