काठमाण्डाै – मन्त्रिपरिषद् विस्तारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र पार्नुभएको छ । आज मङ्गलवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लिएर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको छ ।
विश्वासको मत पाइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने प्रचण्डको भनाइ छ । अहिले अर्थ, गृह, ऊर्जा र कानुन मन्त्री मात्रै नियुक्त भएका छन् । कांग्रेस, माओवादी, जसपा र सकभर एमालेको माधव नेपाल पक्षबाट पनि मन्त्री बन्नेहरूको नामको सूची बनाएर प्रभावकारी काम गर्नेहरूलाई मन्त्री बनाउनुपर्ने कुरा प्रचण्डले प्रधानमन्त्री देउवासँग राख्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई प्रचण्डले केपी ओली नेतृत्वको सरकारले असंवैधानिक किसिमले गरेका नियुक्ति खारेज गर्न पनि सुझाव दिनुभएको छ । प्रधानमन्त्री देउवा पनि छिटै मन्त्रिपरिषद् विस्तारमा सहमत भएको प्रचण्डको सचिवालयले जनाएको छ ।



