काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई मासिक २० युनिटसम्म विद्युट निशुल्क उपलब्ध गराउने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गरी नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको हो ।
यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।
मन्त्री पम्फा भुसालले स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रूपमा छुट दिने घोषणा पनि गर्नुभएको छ ।
अब डिप ट्युवेलमा विद्युत बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइनेछ ।
सतहको पानी लिफ्ट प्रविधि प्रयोग गरी कृषिमा प्रयोग गर्ने कृषकहरूलाई विद्युत बढी माग हुने समयमा ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइने उहाँले जानकारी दिनुभयो।



