काठमाण्डाै – अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आउँदाे तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसाे ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो, मौसमविद् श्रेष्ठले भन्नुभयो ।
विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलाे वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित ठूलाे वर्षाको सम्भावना रहेको बताइएको छ ।
भाेलि सोमवार देशभर सामान्य बदली रही धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



