झापा । झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेम सागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-४ स्थित चुलाचुली चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो साढे १ बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए । बस र चालक मोरङ उर्लाबारी नगरपालिका-७ निवासी ४२ वर्षीय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।



