शेयर लगानीकर्ता आमआन्दोलनरत शेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज अगाडि आमरण अनसन सुरु गरेका छन्।
शेयर धितोमा हुने कर्जा प्रवाहमा सीमा तोकिएपछि पूँजीबजार संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका लगानीकर्ताहरुले आजदेखि आमरण अनसन शुरु गरेका हुन् ।
शुरुमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग्दै आएको संघर्ष समितिले आमरण अनसनमा भने अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीलाई बर्खातीको माग गरेका छन् ।
लगातारको प्रदर्शनमा सरकार उदासिन भएको भन्दै आमरण अनसन सुरु गर्न बाध्य भएको उनीहरुले बताएका छन् । आमरण अनसनमा संघर्ष समितिका संयोजक आदित्य शिवाकोटी बसेका छन्।
पुँजी बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नियमन एवं सुपरिवेक्षण गर्ने सर्वपरी संस्थाहरु र अधिकार प्राप्त व्यक्तिहरुले बेलाबेलामा प्रदर्शन गर्ने पुँजी बजारको विकासविपरीतका काम र कदमविरुद्ध आन्दोलनमा उत्रिनुपरेको संयोजक शिवाकोटीले बताएका छन्। आफ्ना माग पूरा नहुन्जेलसम्म आमरण अनसन नरोकिने उनले बताए। -आजको अर्थबाट



