चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनलाई तीव्रता दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले दैनिक उपभोग्य वस्तुको व्यापारीले अनावश्यक मूल्य वृद्धि गर्ने र म्याद गुज्रिएका सामग्री बेचबिखन गरिरहेको अनुगमनका क्रममा पाइएको बताउनुभयो । उहाँले जिल्लाका १५ वटै पालिकाका बजार क्षेत्रमा अनुगमन गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य, गुणस्तर तथा नापतौल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि रहेको समितिले खाद्यवस्तुको म्याद, गुणस्तर, मूल्य र नापलाई अनुगमनका क्रममा हेरिने गरेको उहाँको भनाइ छ। अनुगमनमा धेरैजसो बिस्कुट, चाउचाउ, चिजवल, सुजी, पिठो, पापड, दाललगायतका सामग्रीको म्याद गुज्रिएको फेला पारेको उहाँले बताउनुभयो ।
जफत गरिएका सामग्री प्रहरीमार्फत नगरपालिकालाई डिस्पोज गर्न लागि पठाइएको छ । मापदण्डअनुसार व्यवसाय नगर्नेलाई मौखिकरुपमा सचेत गराइएको सहायक प्रजिअ रिमालले जानकारी दिनुभयो ।स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताइएको छ।



