लमजुङ स्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । लमजुङ कारागारको क्षमता जम्मा ३५ जना भएपनि अहिले ९७ जना कैदिबन्दी रहदै आएका छन् ।
लमजुङ कारागारको साविक क्षमता २५ जना पुरुष र १० महिलाको रहेको छ । तर यतिबेला १० जना महिला र ८७ जना पुरुष गरी ९७ जना कैदीबन्दी बस्दै आएको कारागार शाखाका प्रमुख जगदिश मिश्रले बताए । ‘कारागार ३५ जना राख्ने क्षमता छ तर, हामीले ९७ जनाको व्यवस्थापन गर्न परेको छ । जिर्ण भवनमा कैदीबन्दीको संङ्ख्या बढ्दा कैदीबन्दीलाई बस्न समस्या हुने गरेको छ ।
‘कैदी बन्दीले सुत्न बस्न समस्या भयो भन्दै दिनहुँ गुनासो गर्ने गर्छन्’ कारागारका प्रमुख मिश्रले भने ‘शौचालय जान समेत समस्या हुन थालेको गुनासो गर्ने गरेका छन् ।’
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस
अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’
जिल्लामा अदालतबाट कैद किटान भई फरार रहेका अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेपछि पछिल्ला दिनमा कैदीबन्दीको सङ्ख्या ह्वात्तै बढेको मिश्रले जानकारी दिए ।
उक्त कारागार बेसीशहरमा जिल्ला सदरमुकाम सरेको पहिलो वर्ष ०२८ सालमा नै निर्माण भएको हो । उक्त कारागार ०७२ कोे भुकम्पका कारण थप जिर्ण बनेको छ । क्षमताभन्दा झण्डै तेब्बर संख्यामा कैदीबन्दी हुँदा शौचालय जान पालो कुर्नु पर्ने भएको कारागारका चौकीदार नविन गुरुङले बताए । उनका अनुसार कैदिबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाई लगायतका समस्या झेल्दै आएका छन ।
जिल्लामा कारागारको अवस्था झल्काउँदै तत्कालै आधुनिक कारागार भवन निर्माणका लागि केन्द्रमा पटक पटक अनुरोध गरेपनि कुनै प्रक्रिया अगापडि बढ्न नसक्दा दिन प्रतिदिन समस्या जटिल बन्दै गएको कारागार प्रशासनले जनाएको छ ।



