मोरङको रतुवामाई नगरपालिका–८ मा सोमवार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ४४८७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल राति ८ बजेतिर एकआपसमा ठक्कर खाँदा एक युवाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई–८ दाम्राभिट्टाका २८ वर्षीय यादव पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका पाठकको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक रतुवामाई–८ का २७ बर्षीय विवेक पोखरेल गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र ट्याक्टर चालक रतुवामाई–२ का पासवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरू गरेको छ । दुवै सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस



