विराटनगर — साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्या मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत मोरङमा मंगलबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको छ । यसअघि सरकारी पक्षबाट जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र सहन्यायाधिवक्ता मनीषबाबु पोखरेल, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले न्यायाधीश भरत लम्सालको इजलासमा बहस गरेका थिए । उनीहरूले अभियोग दाबीबमोजिम सुनुवाइ हुनुपर्ने जिकिर गरेका थिए ।
प्रतिवादी डीआईजी गोविन्द निरौलाका तर्फबाट मंगलबार न्यायाधीश लम्सालको इजलसमा बहस गर्दै वरिष्ठ अधिवक्ता रमेश कोइरालाले वादी पक्षको अभियोग दाबी झूटो भएको जिकिर गर्दै प्रस्तुत मुद्दाबाट प्रतिवादी निरौलाले मुक्ति पाउनुपर्ने माग गरेका थिए । यसअघि उनको पक्षबाट अधिवक्ता भानु निरौलाले बहस गरेका थिए । गोविन्द निरौला उच्च अदालतको आदेशमा तारेखमा छुटेका छन् ।
त्यसैगरी वरिष्ठ अधिवक्ता शम्भु थापा र रमन श्रेष्ठले भुजुङ गुरुङको पक्षमा, अधिवक्ता सतीशकृष्ण खरेलले भोजराज भण्डारी र महावीर गोल्यानको पक्षमा, अधिवक्ता सुशील पन्तले तत्कालीन एसएसपी तथा हालका डीआईजी दिवस लोहनीको पक्षमा र वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले तत्कालीन डीएसपी एवं हालका एसपी प्रजित केसीको पक्षमा बहस गर्ने तयारी गरेका छन् । सुन प्रकरणमा प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, दिवस लोहनी, एसपी विकासराज खनाल, डीएपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो । उनीहरूमध्ये खत्री र राउतबाहेका अरू उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए ।
मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चूडामणि उप्रेतीसहित ७७ जना छन् । तीमध्ये अधिकांश उच्च अदालतको आदेशबाट छुटिसकेका छन् । गोरेको समूहले २०७४ माघ ९ गते दुबईबाट तस्करी गरेर भित्र्याएको साढे ३३ किलो सुन काठमाडौं ल्याएपछि गायब गरेको भन्दै करेन्ट लगाएर यातना दिँदा फागुन १८ गते उर्लाबारी १ का शाक्यको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । इकान्तिपुर बाट



