पहिरोले बस्ती नै जोखिममा पारेपछि कैलालीको चुरे गाउँपालिका–५ का २४ परिवार एक महिनादेखि त्रिपाल टाँगेर राजमार्ग छेउको जंगल किनारमा बसेका छन् । भदौ दोस्रो साता आएको वर्षासँगै बस्तीको माथिबाट पहिरो खस्ने जोखिममा परेपछि उनीहरू विथापित भएका हुन् ।
पहिरोका कारण विस्थापित भएर राजमार्गछेउको जंगल किनारमा बस्न बाध्य कैलालीको चुरे गाउँपालिकाका स्थानीय । तस्बिर : अर्जुन शाह/कान्तिपुर
राति सुतेका बेला घर माथिबाट आएको वर्षाको भेलले खेतीपाती पूरै नष्ट भएको थियो । घरहरू पनि जोखिममा परेपछि विस्थापित हुनु परेको मीना लामाले बताइन् । ‘घरमा बस्दा ज्यानै जोखिममा पर्ने अवस्था आएपछि छाड्न बाध्य भएका हौं,’ मीनाले भनिन् ‘घरबार छाडेर जंगलमा त्रिपालमूनि बस्ने रहर कसलाई होला र ?’ फलगैरा, गोपाले, माल, निंगलाडी, काफलगैरा गाउँमा स्थानीयका घर पहिरोको जोखिममा छन् । पहिरोले यी गाउँमा घरगोठ चर्किनुका साथै बस्ती नै जोखिममा परेको वडाध्यक्ष नरबहादुर तामाङले बताए । उनका अनुसार गोपाले, काफलगैराका गरि २४ परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ ।
ज्याला मजदुरीले जीवन गुजारा गर्दै आएका विस्थापित परिवारहरू यतिबेला खानीडाँडामा निर्माण हुन लागेको दुरसञ्चार कम्पनीको टावर निर्माणमा मजदुरी गर्दै गुजारा चलाइरहेका छन । घरवार छाड्नु परेकाले आफूहरू खानेबस्ने समस्यामा परेको उनीहरूले बताए ।
त्रिपाल टाँगेर सडक किनारामा रहेको जंगलमा बस्नु परेकाले खानेपानी, चर्पीको पनि समस्यामा परेको उनीहरूले बताए । चर्पी नभएकाले जंगलकै खुला ठाउँमै दिशापिसाव गर्नुपर्ने तुलसी रोका मगरले बताइन् । बालबालिकाहरूलाई बचाउन अझ बढी समस्यामा भएको उनले बताईन् । भदौदेखि विद्यालयहरू सञ्चालन भइसकेकाले राजमार्ग हुँदै विद्यालय पठाउन पनि जोखिम रहेको तुलसीले बताइन् । ‘जोरले हुइक्किएर आए गाडीहरूले बच्चालाई हान्देलान भन्ने डर छ,’ उनले भनिन्, ‘अब त झन् जाडो मौसम आयो, निमोनियाबाट बच्चालाई कसरी बचाउनु ।’
वडा कार्यालयका अनुसार पोहोरदेखि हालसम्म ३ सय २४ घरधुरी विस्थापित भएका छन् । वडाध्यक्ष तामाङका अनुसार गत वर्षसम्म ३ सय घरधुरी विस्थापित भएका थिए । अहिलेको पहिरोले थप २४ घरधुरी विस्थापित भएका हुन् । गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले जिल्ला प्रशासन कार्यालय, प्रदेशका मुख्यमन्त्री लगायत विभिन्न निकायहरूलाई विस्थापितहरूको दिगो ब्यवस्थापनका लागि अनुरोध गरेको भए पनि सुनुवाई नभएको बताए ।



