काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले एक समारोहकाबीच वरिष्ठ गायक/संगीतकार भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान २०७७’ तथा आख्यानकार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई ‘पद्मश्री साहित्य पुरस्कार २०७७’ समर्पण गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले दुवै स्रष्टालाई तीन/तीन लाख नगद राशीसहित ताम्रपत्र प्रदान गरे ।
आफ्नो मन्तव्यमा जीवा लामिछानेले पुरस्कृत उपन्यास ‘मोक्षभूमि’ र सम्मानित स्रष्टा भजन शिरोमणि भक्तराज आचार्यका बारेमा चर्चा गर्दै आगामी वर्षदेखि एउटा अर्को सम्मान पनि थपिने घोषणा गरे । प्रतिष्ठानले आउँदो वर्षदेखि ‘पद्मश्री समाज सम्मान’ प्रदान गर्ने उनले बताए । उनले सम्मान स्वयम् सम्मानित हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए ।
अध्यक्ष लामिछानेले भने, “आगामी वर्षको पुरस्कारका लागि निर्णायक समूह चयन गरिएको छ । निर्णायकहरूमा लेखक राम लोहनी, आख्यानकार नयनराज पाण्डे र समालोचक कुमारी लामा रहनु भएको छ ।”
उक्त अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित प्रतिनिधि नेपाली कथाहरूको अंग्रेजी अनुवाद ‘सेलेक्टेड नेपाली स्टोरिज’को विमोचन गरियो । अनुदित कथाकृति डा. ध्रुवचन्द्र गौतम तथा खगेन्द्र संग्रौलाले सार्वजनिक गरे ।
कार्यक्रममा सम्मानित स्रष्टा भक्तराज आचार्यको लिखित मन्तव्य आचार्यपुत्र गायक सत्यराज आचार्यले पढेर सुनाएका थिए भने पुरस्कृत कृति ‘मोक्षभूमि’का लेखक केशव दाहालले आफू यस पुरस्कारको गरिमालाई उच्च राख्न प्रयत्नशील रहने उल्लेख गरे ।
समारोहमा आगामी वर्षका लागि निर्णायक तोकिएका राम लोहनी, सेलेक्टेड स्टोरिजका सम्पादक कृष्ण धरावासी र अनुवादक महेश पौडेलले आ–आफ्नो धारणा राखे ।
कार्यक्रमको अन्त्यमा अर्थशास्त्री डा. विश्व पौडेलले ‘साहित्यदेखि सत्तासम्म’ शीर्षकमा विद्वत प्रवचन दिए । उनले साहित्य र सत्ताका विभिन्न आयामहरूको चर्चा गर्दै ‘साहित्यकारहरूको आफ्नै सत्ता रहेको’ उल्लेख गरे ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक समूहले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ भने २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्श्री साधना सम्मान अर्पण गर्दै आएको छ ।



