त्यसलगत्तै निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध सोही वडाका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र एकजना अधिवक्ताले आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । उनीहरुले रिट हाले लगत्तै जेठ २२ गते सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
शुक्रबारको बहसले निरन्तरता पाएपछि अब पुनः मतदान गर्ने आयोगको निर्णय रोकिने निश्चित जस्तै भएको छ । यदि शुक्रबारको बहसले निरन्तरता नपाएको भए सर्वोच्चले पुन मतदान गर्नुपर्ने फैसला गर्नुपर्ने अवस्था आउँथ्यो, तर अन्तरकालीन आदेशले निरन्तरता पाएपछि अब सर्वोच्चले पुन मतगणनामा जान आदेश दिने तयारी गरेको एक कानुनविदले बताए । शुक्रबार सो मुद्धाको १ नम्बरमा पेसी राखिएको भएता पनि सर्वोच्चले नभ्याइएको भन्दै सोमबारका लागि सुनुवाई तोकेको छ ।
यसअघि कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र,मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । अहिले च्यातिएका मतत्रप सर्वोच्च अदालतमा रहेका छन् ।
यद्यपि, सर्वोच्चले शुक्रबार दिएको बहसको निरन्तरताले एमालेले राखेको पुन मतगणनाको माग कार्यान्वयन हुने निश्चित देखिएको छ ।
यदि सर्वोच्चले बहसलाई निरन्तरता नदिएको भए कांग्रेस माओवादीले राखेको पुन मतदानको माग सम्बोधन हुने निश्चित थियो । तर सर्वोच्चले यो बहसलाई निरन्तता दिएको छ ।
‘अन्तरकालीन बहसको निरन्तरताको संकेत सर्वोच्चले अब भरतपुर १९ मा पुन मतगणनाका लागि आदेश दिने तयारी हो’ ती कानुनविदले स्पष्ट पारे ।
जेठ १४ गते माओवादी कार्यकर्ताले सो महानगरको मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । सो निर्णयको एमालेले चर्को विरोध गर्दै पुन मतगणना गर्नुपर्ने माग राख्दै आएको छ भने कांग्रेस र माओवादीले पुन मतदानमा जानुपर्ने माग राख्दै आएका थिए । सर्वोच्चले पुन मतगणनामा जाने आदेश दिएलगत्तै सो वडाको मतगणना प्रक्रिया सुरु हुनेछ ।
सो महानगरपालिकामा एमालेका देवी ज्ञवाली र कांग्रेस माओवादीको तर्फबाट रेणु दाहाल मेयरको उम्मेद्वारमा उठेका छन् । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री समेत हुन् ।
सर्वोच्चले पुन मतगणनामा जाने संकेत दिएसँगै अब यी दुई उम्मेद्वारहरुको भाग्य भरतपुरमा गणना गर्न बाँकी रहेका मतमा निर्भर हुनेछ । एमालेको तर्फबाट उम्मेद्वार रहेका ज्ञवालीको अग्रता निकै अघि देखिएकोले उनको भाग्य चम्किएको सहजै अनुमान गरिएको छ ।



