दाङका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तिको पनि हत्या भइसकेको रहस्य उद्घाटन भएको छ । जेठ २६ गते श्रेष्ठ सहित रणबहादुर पनि अपहरण परेका थिए । श्रेष्ठ भन्दा पहिलेनै रणबहादुरको हत्या भएको खुलेको हो ।
उक्त घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका ६ का टिकाराम घर्ति र उनकी छोरी पूजालाई पक्राउ गरेसँगै यो रहस्या खुलेको हो । पुजाले राजकुमारको भन्दा पहिल्यै रणबहादुरको पनि आफूहरुले हत्या गरेको बयान दिएकी छन् ।
रकम असुलीका लागि बाबु छोरी मिलेर उनीहरुलाई अपहरण गरेको र पछि हत्या गरेको उनीहरुले बताएका छन् । प्रहरीले सोमवार राति टिकाराम र उनकी छोरी पूजालाई भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
श्रेष्ठ र घर्तिको हत्यामा १४ जनाको संलग्नता रहेको देखिएको छ । प्रहरीले ७ जनालाई पक्राउ गरेको छ भने सात जनाको खोजी गरिरहेका छ । घर्तीका बाबु छोरी मिलेर आपराधिक गिरोह नै सञ्चालन गरेको देखिएको हो ।
जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शब असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा फेला पारेको थियो।
पुजाले व्यापारी श्रेष्ठलाई घुम्न जाने बाहानामा अपहरण गरेकी थिइन् । अपहरणमा युवतीको प्रयाग गरिएको प्रहरी अनुसन्धानले देखाएको छ ।



