जातान्त्रिक तथा बामपन्थी आन्दोलनकी योद्धा सहाना प्रधानको स्मृति दिवसमा अखिल नेपाल महिला संघले मंगलवार राजधानीको नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरेको थियो । मञ्चमा प्रमुख अतिथि थिए एमाले अध्यक्ष केपी शर्मा ओली । एमाले र अन्य दलका भगिनी संगठनका महिला नेतृहरु पनि मञ्चमा सँगै थिए ।
मुख्य वक्ताको रुपमा उपस्थित एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिसँग गाँसेर महिला आन्दोलन र आन्दोलनको सफलताका विषयमा भावनात्मक मन्तब्य राख्न थालेपछि सभामा सहभागि सबै भावुक हुन पुगे । ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आव्हान गरेपछि सभा भावुक भएको थियो ।
उनले साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीले थालेका काम उनीहरु जीवित हुँदा सफल नभए पनि अहिले आएर सफल भएको वताउँदै आफूले थालेको काम पनि अहिले नै पूरा नहुन सक्ने वताएका थिए ।
‘साहना प्रधानले कतै बोल्दा पोथी बास्यो भन्ने समाज थियो तर, अहिले उहाँ हुनुहुन्न, राष्ट्रको सर्वाेच्च पदमा महिला पुग्नु भएको छ’ ओलीले भने, ‘असल काम थालनी गर्दासाथ सफलतामा पुग्दैनन्, मदन भण्डारी, पुष्पलाल मनमोहन अधिकारीले पनि जे कुरा उठाउनु भयो, त्यो उहाँहरुको जीवनकालमा आएन ।
मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला ।’
जव ओलीले ‘मैले सुरु गरेका काम पूरा गर्न सायद भ्याउँदिनहोला’ भने तव हलमा सन्नाटा छायो । ओलीले अझै अगाडि बढेर भने– ‘मलाई विश्वास छ, धर्तीमा न्यायका पक्षमा लाग्ने जो जो बाँकी रहनुहुन्छ उहाँहरुले मैले थालेका काम पूरा गर्नुहुनेछ ।’ उनले आफूलाई निरंकुश ब्यवस्थाले जेल हालेको र मार्ने योजनासाथ जेल सार्दा बाँचेको प्रसंग पनि स्मरण गरे ।
‘के थिएँ र म ! भर्खरको केटो त थिएँ । हामी लोकतन्त्र र समाजिक न्याय खोज्न चौध चौध वर्ष जेल बस्यौं । सँगै बसेका साथीहरुलाई जेल सार्ने भन्दै बीचमा लगेर मारिन्थ्यो, मलाई पनि जेल सार्न भन्दै लगेका थिए, बीचबाट उम्केर यहाँसम्म आइपुगेँ’ ओलीले भने, ‘अहिले पनि मैले थालेका काम, मेरा सपना सवै जीवनकालमै पूरा हुन्छन् भन्ने छैन, पूरा भएनन् भने तपाईंहरुले पूरा गर्नुहोला ।’ समुन्नत लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, जनताको समृद्धि र सामाजिक न्याय आफ्नो जीवनको सपना भएको ओलीले वताए ।
ओलीले अहिले महिला राष्ट्रको सर्वाेच्च पदमा पुगेको र स्थानीय तहमा ५० प्रतिशत महिला निर्वाचित भएको स्मरण गर्दै त्यसका लागि आफ्नो पार्टीले गरेको संघर्ष स्मरण गरे । ‘हामी सामाजिक न्याय हेर्छाैं, पार्टी हेर्देनौं, तपाईहरु अरु पार्टीमा आस्था राख्ने महिला पनि यहाँ हुनुहुन्छ’ ओलीले भने, ‘तपाईंहरुका लागि संघर्ष गर्ने पार्टी एमाले हो ।
सुशीला कार्की एमाले हुनुहुन्न, उहाँ र न्यायालयमाथि आक्रमण गर्दा हामी रक्षामा उभियौं, महिलालाई राष्ट्रपति बनाउने पार्टी एमाले हो , ओनसरी घर्तीलाई सभामुखमा प्रस्ताव गर्ने पार्टी एमाले हो ।’
ओलीले एमालेको जितले पोलिएका शक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि झुठा आरोप लगाएर चिथोर्न थालेको पनि वताए । ‘एमालेले धेरै मत ल्यायो, धेरै सिट ल्यायो त्यसैले उनीहरु पोलिएका छन्’ ओलीले भने, ‘रिसाएको विरालोले खाँबो चिथोरेजस्तै राष्ट्रपतिमाथि झुठा आरोप लगाएर चिथोर्न थालेका छन् ।’
उनले एमालेको जितसँग नआत्तिन आग्रह गर्दै एमालेको समग्र जितले देशले काँचुली फेर्ने वताए । ‘एमालेले स्थानीय तहमा मात्रै होइन प्रदेश र संघीय संसदमा पनि कसैले कल्पना नगरेको जित हासिल गर्छ, यसले देशको काँचुली फेर्ने आधार बनाउँछ’ ओलीले भने, ‘यसलाई रुचाउन नसक्ने जो जो छन्, एमालेको जित सुन्न मन नलागे पानी पारेर बसे पनि हुन्छ ।’



