काठमाडौं । जापानी कार निर्माता कम्पनी होन्डाले एकै पटक ५ नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक कार नयाँ E:N (इःएन) सब ब्राण्ड नेममा ल्याउनेगरी सार्वजनिक गरेको हो ।
होन्डाले राखेको इःएन सब ब्राण्डलाई टेक्नोलोजी र नेक्सट जेनेरेशनको मिश्रण भनेर अथ्र्याएको छ । कम्पनीले यी ५ मध्ये २ मोडलको उत्पादन सुरु भइसकेको जनाएको छ । जसमा E:N1 र E:NP1 रहेका छन् । यी दुबै मोडल होन्डा एचआर-भीमा आधारित रहने छन् । होन्डाले तयार गरेको इभी स्पेसिफिक आर्किटेक्चरमा बन्ने यी दुबै मोडल सन् २०२२ को मध्यसम्ममा चीनमा सार्वजनिक हुने छन् ।
अन्य तीन मोडल भने इःएन कुप्पे, इःएन एसयूभी र इःएन जीटी रहेका छन् । भविष्यको डिजाइनमा आधारित यी तीनवटै मोडल निकै बोल्ड र आक्रमक देखिन्छन् । यी तीन मोडलले भविष्यमा आउने होन्डाका इलेक्ट्रीक कारलाई प्रतिविम्बित गर्ने कम्पनीले दावी गरेको छ ।
होन्डाले यी कुनै पनि इलेक्ट्रीक कारको टेक्नीकल डिटेल सार्वजनिक गरेको छैन । तर, चीनमा उत्पादनको तयारी भइरहेको मोडलहरु अन्य अन्तर्राष्ट्रिय बजारमा पठाउने विषयमा भने निर्णय भइसकेको कम्पनीले जनाएको छ । चीनमा डोङफेङसँगको सहकार्यमा होन्डाले यी कारहरु उत्पादन गर्न लागेको हो ।



