सप्तरी, ८ मंसिर । सप्तरीमा एक वृद्धको हत्या भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८० वर्षीय मिश्रिलाल मण्डलको अपरिचित व्यक्तिले हत्या गरेको स्थानीय कृष्णा मण्डलले जानकारी दिए ।
खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले समेत पुष्टि गरेको छ । छिन्नमस्ता सडक खण्डको झौखराही फुलबारीमा शव रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा परिचालन भएको छ । शव भेटिएको घटनास्थल, पीडित परिवार, सरोकारवाला निकायलगायतसँग भेट गरेर प्रहरीले आवश्यक अध्ययन शुरु गरेको छ । अपराध अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनाका इन्स्पेक्टरलाई समेत बोलाइएको डिएसपी काफ्लेले बताए । घटनाको सूक्ष्म अनुसन्धान हुने बताएका डिएसपी काफ्लेले आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने बताए ।
बिहान करिब १० बजे वृद्धले छिन्नमस्ता सखडातर्फ जाने भन्दै घरबाट हिंडेको घर परिवारका सदस्यले जानकारी दिएका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरेर घाँटी रेटको देखिएको बताएको छ । डीएसपी काफ्लेले भने, ‘घटना के कसरी भयो भन्ने अहिलेसम्म केही खुलेको छैन । हामी पनि अनुसन्धान गरिरहेका छौं ।’
दुई दिनअघि मात्र मानव बेचबिखन अनुसन्धान शाखामा सरुवा भएका एसपी राजेन्द्रप्रसाद धमला सप्तरीबाट प्रस्थान भएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट सप्तरी सरुवा भएका नयाँ एसपी अभिनारायण काफ्ले आइपुगेका छैनन् ।



