मधेस आन्दोलनको क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पर्साको पकाहा मैनपुरका शहिद शत्रुधन पटेलको शालीक अनावरण कार्यक्रम विवादास्पद बनेको छ ।
पकाहा मैनपुरमा निर्माण गरिएको शहिद पटेलको शालीक अनावरणका लागि राष्ट्रिय जनता पार्टीले आज अयोजना गरेको कार्यक्रम विवादास्पद बनेको हो ।
शहिद पटेलकी आमा आमा कुशमी देवीले आज बिहान पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई भेटेर सालिक अनावरण कार्यक्रम रोक्न राष्ट्रिय जनता पार्टी बिरुद्ध लिखित उजुरी नै दिएपछि कार्यक्रम विवादास्पद बनेको हो ।
पकाहा मैनपुरमा निर्माण गरिएको शहिद पटेलको सालिकको राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज अनावरण गर्ने कार्यक्रम छ । शहिद पटेलकै आमा कुशमी देवीले भने शालीक अनावरण कार्यक्रममा आफु सरिक नहुने भन्दै कार्यक्रम नै रोक्नक लागि प्रमुख जिल्ला अधिकारीलाइ राजपा विरुद्ध उजुरी दिनु भएको हो ।
‘एउटा पार्टीले आफुसँग सल्लाह नै नगरि आफुखुशीले मुर्ति बनाएको छ, मुर्तिको अनुहार पनि फिटिक्कै मिल्दैन ,मेरो छोराको मुहार चिनिया मान्छे जस्तो बनाई दिएका छन्,’ सहिद पटेलकी आमा कुशमी देवीले भन्नु भयो , ‘उसको दाह संस्कार हुँदा मधेशका सबै पार्टीका हजारौं मानिसहरु सहभागि भएका थिए, तर आज एउटा पार्टी आएर उसको मुर्ति बनाएर राजनीति गर्न खोज्दैछ, हामीलाई मन्जुर छैन् ।’
सहिद पटेलका दाजु तेजा पटेलले पनि आफुहरुको सहमति बिना गर्न लागिएको सालिक अनावरण कार्यक्रममा आफुहरु सामेल नहुने बताउनु भयो । शालीक अनावरण कार्यक्रम रोक्न भन्दै शहिद पटेलकी आमा कुशमी देवीले उजुरी दिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले यसलाई आफुले गम्भीर रुपमा लिएको प्रतिक्रिया दिनु भयो ।
‘जसको छोरा मारिएका छन तिनै आमाले अमान्य गरेपछि सालिक अनावरण गर्ने कार्यक्रमको अर्थ रह्दैन्,’ प्रमुख जिल्ल अधिकारी घिमिरेले भन्नु भयो , ‘सहिद कि आमाले सालिक अनावरण रोक्न भन्नु भएको छ, सालिक निर्माण गराउनेलाई मैले यस बारेमा जानकारी गराएको छुँ, राजपाका अन्य नेताहरुसँग पनि कुरा गर्दैछुँ, उहाँहरुले सहिदको परिवारको कुरा सुनिदिनु पर्छ ।
राजपाका नेताहरुले भने शहिद पटेलका परिवारलाइ संघीय समाजवादी फोरम नेपालका नेताहरुले उचाल्ने काम गरेको बताएका छन् ।सहिदकी आमाको भावनाको राजपाले सम्मान गर्ने भन्दै राजपाका महासचिव शीव पटेलले भन्नु भयो , तर बुझ्नु पर्ने के हो भने सहिद कुनै ब्यक्तिको मात्र नभई देश र समाजका धरोहर हुन्छन्, कसैले सम्मान प्रकट गर्दैछ भने सहज रुपमा ग्रहण गर्नु पर्ने हो ।



